भदौ २३ मा कसले दियो गोली चलाउने आदेश ? बीबीसीको सनसनीपूर्ण खुलासा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
भदौ २३ मा कसले दियो गोली चलाउने आदेश ? बीबीसीको सनसनीपूर्ण खुलासा

बीबीसीले गत भदौ २३ मा काठमाडौंमा भएको जेनजी प्रदर्शन र त्यसक्रममा भएको गोलीकाण्डबारे अनुसन्धानात्मक डकुमेन्ट्री सार्वजनिक गरेको छ। बीबीसीले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त डकुमेन्ट्री नेपाल प्रहरीबाट प्राप्त आन्तरिक कागजात, सञ्चार सम्पर्कका अडियो र सामाजिक सञ्जालमा राखिएका हजारौं भिडियोको विश्लेषणमा आधारित रहेको जनाएको छ।

डकुमेन्ट्रीमा घटनाको विस्तृत टाइमलाइन प्रस्तुत गर्दै कर्फ्यु लागू भएपछि कसरी गोली चल्न सुरु भयो, पहिलो मृत्यु कसरी भयो र कसले आदेश दियो भन्ने विषय उल्लेख गरिएको छ। बीबीसीका अनुसार ‘पिटर १’ कल साइन प्रयोग गर्ने तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबाट ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन आएको दाबी गरिएको छ, जसअन्तर्गत कर्फ्यु लागू भएको १० मिनेटपछि थप अनुमति नपर्खी गोली चलाउन आदेश दिइएको उल्लेख छ। सो आदेश ‘किलो १’ मार्फत कार्यान्वयन भएको र त्यसबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी रहेको पनि डकुमेन्ट्रीमा भनिएको छ।

यद्यपि नेपाल प्रहरीका प्रवक्ताले भने गोली चलाउने निर्णय जिल्लाको सुरक्षा समन्वय समितिको बैठकबाट भएको दाबी गरेका छन्। त्यसबेला समितिको नेतृत्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गरेका थिए। रिजाल, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूले गोली चलाउन आदेश नदिएको बताएका छन्। डकुमेन्ट्रीमा दोस्रो दिन प्रहरीलाई आफ्ना पोशाक, हतियार र सवारी साधनको सुरक्षामा केन्द्रित हुन निर्देशन दिइएको तथा भिड नियन्त्रण गर्न सकेसम्म अश्रुग्यास प्रयोग गर्न भनिएको उल्लेख छ।

भदौ २३ को प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो, जसमा १७ वर्षीय विद्यार्थी श्रीयम चौलागाईं पनि रहेका थिए। भिडियो विश्लेषणअनुसार उनी निहत्था अवस्थामा घटनास्थलबाट टाढा जाँदै गर्दा टाउकोको पछाडि गोली लागेको देखिन्छ। त्यसदिनको हिंसापछि देशव्यापी आक्रोश फैलिएको र भोलिपल्ट थप झडप हुँदा कुल ७७ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। सेप्टेम्बर ९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार पतन भएको थियो। हाल उक्त घटनाबारे सार्वजनिक छानबिन भइरहेको छ र प्रतिवेदन आउन बाँकी छ। मृतकका परिवारजन भने अझै न्यायको पर्खाइमा रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स