२१ वर्षको उमेरमै आफ्नै प्रविधि कम्पनी सुरु गरेका अनिल ढकालले व्यवसाय सफल बनाउन परिवारको जग्गासम्म बेचेर लगानी गरे। तर अनुभवको कमी, लोडसेडिङ, राजनीतिक अस्थिरता र प्रतिकूल बजारका कारण उनको पहिलो व्यवसाय टिक्न सकेन। त्यही असफलताबाट सिक्दै उनी अहिले भोक्सक्रो प्रालिका सहसंस्थापक तथा प्रमुख व्यवसाय रणनीति अधिकृत (Chief Business Strategy Officer) का रूपमा २०० भन्दा बढी संस्थालाई प्रविधि सेवा उपलब्ध गराउने कम्पनीसँग आबद्ध छन्।
सुर्खेतबाट काठमाडौं आएका ढकालले वेबसाइट तथा सफ्टवेयर कम्पनी स्थापना गरेर उद्यमशील यात्रा सुरु गरेका थिए। पहिलो प्रयास असफल भएपछि उनले व्यवसाय बन्द गर्दै आफ्नो सीप विकासमा ध्यान केन्द्रित गरे। अध्ययन पूरा गरेपछि विभिन्न कम्पनीमा काम गर्दै अनुभव बटुले र पछि आईएमईमा ग्राफिक डिजाइनरबाट व्यवसाय विकाससम्बन्धी जिम्मेवारी सम्हाले। करिब चार वर्षको अनुभवपछि उनी पुनः उद्यमशील यात्रामा फर्किएका हुन्।
हाल उनी आबद्ध रहेको भोक्सक्रोले व्यवसायका लागि क्लाउड टेलिफोनी, कल सेन्टर सफ्टवेयर तथा ग्राहक सेवा व्यवस्थापन (Customer Communication Platform) सम्बन्धी समाधान उपलब्ध गराउँदै आएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल, डिजिटल सेवा प्रदायकलगायत २०० भन्दा बढी संस्थालाई सेवा दिइरहेको ढकालले जानकारी दिए।
उनका अनुसार कम्पनीले हालै साना तथा मझौला व्यवसाय (SMEs) लाई लक्षित गर्दै कम लागतको क्लाउड टेलिफोनी सेवा पनि सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत मासिक एक हजार रुपैयाँबाट पाँच जना प्रयोगकर्ताले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
व्यवसायअघि अनुभव आवश्यक
ढकालका अनुसार पहिलो व्यवसायमा असफल भएपछि उनले एउटा महत्वपूर्ण पाठ सिके– अनुभवबिनै व्यवसायमा हतार गर्नु हुँदैन।
उनी भन्छन्, “पहिले दुई–चार वर्ष काम गरेर उद्योग कसरी चल्छ भन्ने बुझ्नुपर्छ। त्यसपछि व्यवसायमा लाग्दा असफल हुने सम्भावना धेरै घट्छ।”
उनको भनाइमा व्यवसायमा केवल उत्पादन तयार गर्नु मात्र पर्याप्त हुँदैन। बिक्री, ग्राहक सेवा, वित्त व्यवस्थापन, बजार विस्तार र दीर्घकालीन सञ्चालनको सम्पूर्ण प्रक्रिया बुझ्नु आवश्यक हुन्छ।
व्यवसाय सबैका लागि उपयुक्त हुँदैन
ढकालका अनुसार व्यवसाय गर्ने इच्छा मात्र पर्याप्त हुँदैन। यदि कसैसँग व्यवसायप्रति वास्तविक रुचि र जोखिम बहन गर्ने तयारी छैन भने राम्रो जागिर गर्दै बचत र लगानीमार्फत पनि आर्थिक प्रगति गर्न सकिन्छ।
उनी भन्छन्, “पहिले आफ्नो र परिवारको आधारभूत आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्छ। त्यसपछि मात्रै व्यवसायको जोखिम लिनुपर्छ।”
युवालाई तीन सुझाव
हाल ३६ वर्षका ढकालले युवाका लागि तीन प्रमुख सुझाव दिएका छन्।
कुनै एउटा मुख्य सीप (Core Skill) मा उत्कृष्ट बन्नु।
दुई–चार वर्ष उद्योगको वास्तविक अनुभव हासिल गर्नु।
व्यवसाय सुरु गर्नुअघि बचत र लगानीको आधार तयार गर्नु।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (AI) को युगमा पनि सेल्स, कन्टेन्ट र ग्राहकसँग प्रत्यक्ष सम्बन्ध राख्ने सीपको महत्व उच्च रहनेछ।
नेपालमै अवसर प्रशस्त
नेपालमा व्यवसाय गर्न चुनौती रहे पनि अवसरको अभाव नरहेको ढकालको भनाइ छ। सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन र नवप्रवर्तनका क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले युवालाई विदेश जाने वा नेपालमै बस्ने निर्णय आफ्नो क्षमता र रुचिअनुसार गर्न सुझाव दिए।
उनका अनुसार सफल व्यवसायको मूल आधार ग्राहकको समस्या समाधान गर्ने क्षमता हो, उत्पादन बेच्ने प्रयास मात्र होइन। “राम्रो सेल्स भनेको बिक्री होइन, ग्राहकको समस्या बुझेर समाधान दिनु हो,” उनले भने।

प्रतिकृया