२०८३ मा सेयर बजारमा के गर्ने, के नगर्ने ? बालेन बुल सुरु हुँदैछ ? [भिडियोसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २ गते
२०८३ मा सेयर बजारमा के गर्ने, के नगर्ने ? बालेन बुल सुरु हुँदैछ ? [भिडियोसहित]

पछिल्लो राजनीतिक परिवर्तनसँगै दोस्रो बजारमा देखिएको उतारचढाव, ३२०० अंकको सीमा पार गर्न सक्ने सम्भावना र हालको बजार अवस्थाबारे लगानीकर्ता नवराज दाहालले विश्लेषण प्रस्तुत गरेका छन्। उनका अनुसार बजारमा देखिएको हालको उतारचढाव कुनै एक व्यक्ति वा सरकारको कारण नभई मुख्य रूपमा लगानीकर्ताको मनोविज्ञान, भ्रम र क्षणिक सेन्टिमेन्टको परिणाम हो। उनले राजनीतिक स्थिरता वा सरकार परिवर्तनप्रति अत्यधिक अपेक्षा राखेर बजारलाई हेर्नु गलत भएको भन्दै दीर्घकालमा बजार अर्थतन्त्र र नीतिगत स्थायित्वमा आधारित भएर चल्ने बताए। पछिल्लो गिरावटलाई उनले मुख्यतः डर र प्यानिक सेलिङको परिणाम भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र सरकारी कडाइका समाचारले लगानीकर्तामा त्रास फैलिएको उल्लेख गरे, तर अनुसन्धानमा परेका व्यक्तिको सेयर सप्लाई बजारमा तुरुन्त आउँछ भन्ने बुझाइ गलत भएको स्पष्ट पारे।

उनका अनुसार त्यस्ता अवस्थामा सम्पत्ति रोक्का हुने भएकाले उल्टै सप्लाई कम हुने सम्भावना रहन्छ, तर गलत बुझाइ र हल्लाका कारण बजारमा प्यानिक बढेको हो। उनले नियामक निकायहरूको भूमिकाप्रति पनि आलोचना गर्दै बजारमा सूचना पारदर्शिता, अनुगमन र लगानीकर्ता शिक्षामा कमजोरी रहेको बताए। बजार घट्दा वा बढ्दा स्पष्ट कारण नदेखिनु नै ठूलो समस्या भएको उनको भनाइ छ। सर्किट ब्रेकरको सीमा परिवर्तन जस्ता विषयभन्दा पनि मार्जिन कारोबार, सूचना व्यवस्थापन र नियमन प्रणाली सुधार गर्नु आवश्यक रहेको उनले जोड दिए। मार्जिन लेन्डिङमा ब्याजदर नियमन नभए विकृति बढ्न सक्ने चेतावनी दिँदै उनले इन्ट्राडे ट्रेडिङ र सर्ट सेल अहिलेको अवस्थामा नेपाल बजारका लागि उपयुक्त नभएको बताए, किनभने आवश्यक पूर्वाधार, पारदर्शिता र नियामक क्षमता अझै विकसित भइसकेको छैन।

उनले दीर्घकालीन स्थिर सरकार र सुधारमुखी नीतिहरू आएमा बजारमा सकारात्मक वातावरण बन्न सक्ने सम्भावना रहेको तर तत्कालै ठूला उतारचढावलाई राजनीतिक घटनासँग जोडेर निष्कर्ष निकाल्नु गलत हुने बताए। अन्त्यमा उनले लगानीकर्तालाई डर र लोभ नियन्त्रण गर्दै आधारभूत अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिए। बजारलाई छिटो धनी बन्ने माध्यम नभई निरन्तर सिकाइ, धैर्य र अनुशासित लगानीको क्षेत्रका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स