नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै कृषि, ऊर्जा र वस्तु व्यापार क्षेत्रलाई आधुनिक बनाउन वस्तु विनिमय बजार (Commodity Exchange) सञ्चालनको तयारी गर्ने भएको छ। बोर्डले यसमार्फत कृषि उपज, धातु तथा ऊर्जासम्बन्धी वस्तुको कारोबारलाई व्यवस्थित गर्दै पारदर्शी मूल्य निर्धारण प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।
बोर्डका अनुसार हाल कृषि उपज, धातु र ऊर्जासम्बन्धी वस्तुको कारोबार परम्परागत प्रणालीमा आधारित भएकाले मूल्य निर्धारणमा पारदर्शिताको अभाव र बिचौलियाको प्रभाव रहेको छ। त्यसलाई सुधार गर्न वस्तु विनिमय बजारमार्फत मूल्य अन्वेषण (Price Discovery) प्रणाली विकास गरिने नीति लिइएको छ।
नीतिअनुसार कृषि उपजको भण्डारण तथा गुणस्तर प्रमाणीकरणका लागि इलेक्ट्रोनिक वेयरहाउस रसिद (Electronic Warehouse Receipt System) विकास गरिनेछ। यसले किसानलाई भण्डारण गरिएको उत्पादनको आधारमा वित्तीय पहुँच प्राप्त गर्न सहयोग गर्ने बोर्डले जनाएको छ।
त्यसैगरी उत्पादक र व्यवसायीलाई बजार मूल्यमा हुने उतारचढावबाट जोगाउन हेजिङ (Hedging) सम्बन्धी वित्तीय प्रणालीको आधार तयार गरिनेछ।
बोर्डले वस्तु विनिमय बजारलाई बैंकिङ प्रणाली, बीमा सेवा तथा वेयरहाउस फाइनान्सिङ (Warehouse Financing) सँग क्रमशः आबद्ध गर्ने नीति पनि लिएको छ। साथै बजार कारोबारलाई पारदर्शी बनाउन डिजिटल कारोबार प्रणाली र रियल-टाइम (Real-Time) बजार निगरानी प्रणाली विकास गरिनेछ। वस्तु बजार सञ्चालनका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ संस्थासँग सहकार्य गर्दै आवश्यक प्राविधिक तथा संस्थागत क्षमता विकास गर्ने पनि बोर्डको योजना छ।
बोर्डको कार्यान्वयन कार्ययोजना (Action Matrix) अनुसार आगामी आर्थिक वर्षमा कृषि उपज र धातुजन्य वस्तुमा आधारित करार (Contracts) कारोबार सञ्चालनका लागि अध्ययन गरी परामर्शपत्र (Consultation Paper) तयार गरिनेछ। साथै वस्तु विनिमय बजारसँग सम्बन्धित कानुनी तथा नियामकीय संरचनालाई अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप परिमार्जन गर्ने नीति पनि लिइएको छ।

प्रतिकृया