भिसाले काठमाडौंमा भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ आयोजना गर्दै नयाँ डिजिटल भुक्तानी सेवा ‘भिसा एक्सेप्ट’ को सुरुवात गरेको छ। मारियट होटलमा सम्पन्न कार्यक्रममा बैंक, फिनटेक, व्यापारी तथा भुक्तानी प्रोसेसर संस्थाका प्रतिनिधिसहित २०० भन्दा बढी सहभागी उपस्थित थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना विशेष अतिथिको रूपमा सहभागी भएका थिए।
भिसा एक्सेप्ट सेवा साना तथा घरेलु व्यवसायलाई लक्षित छ, जसले मोबाइल फोनलाई नै भुक्तानी स्वीकार्ने उपकरण बनाउँछ। व्यापारीहरूले कुनै महँगो POS मशीन वा जटिल कागजी प्रक्रिया बिना मोबाइल बैंकिङ एप प्रयोग गरेर वा लिङ्कमार्फत डिजिटल भुक्तानी लिन सक्छन्। यसले नयाँ उद्यमी, विशेषगरी महिला र लघु व्यवसायलाई औपचारिक अर्थतन्त्रमा जोड्न सहयोग पुर्याउने भिसाको दाबी छ। भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बिर अहमद, दक्षिण एसियाका उत्पादन प्रमुख रामकृष्णन गोपालन, तथा नेपाल व्यवसाय प्रमुख मनोज थापालगायतका अधिकारीहरूले नेपालको डिजिटल भुक्तानी विस्तारमा भिसा एक्सेप्टले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा २०२४–२०२५का उपलब्धिका आधारमा २० श्रेणीमा १३ संस्थालाई पुरस्कार प्रदान गरिएको थियो। श्रेणीहरूमा डेबिट–क्रेडिट कार्ड, फिनटेक साझेदारी, सीमापार भुक्तानी, सम्पर्करहित समाधान र व्यापारी सेवा जस्ता क्षेत्र समावेश थिए। भिसाले नेपालमा सुरक्षित, सरल र समावेशी डिजिटल भुक्तानी वातावरण विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।



















प्रतिकृया