बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आयोजना गर्न लागेको राष्ट्रव्यापी प्रदर्शनअघि बंगलादेशमा बुधबार राति विभिन्न स्थानमा हिंसा भड्किएको छ।
ढाकास्थित धनमन्डी-३२ मा रहेको शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ‘बंगबंधु’को निवास तोडफोड भएको छ। यस घरबाट सन् १९७१ मा मुजिबुर रहमानले पाकिस्तानसँगको स्वतन्त्रता घोषणा गरेका थिए। सन् १९७५ मा यहीँ हत्या गरिएका मुजिबुर रहमानको घरलाई हसिनाले संग्रहालयमा परिणत गरेकी थिइन्।
त्यस्तै, खुलनामा हसिनाका काका शेख सोहेल र शेख ज्वेलको घर दुई वटा बुलडोजरले भत्काइएको छ।
प्रदर्शनकारीहरूले शेख हसिनाले सम्बोधन गरेपछि घरमा बुलडोजर चलाइने चेतावनी दिएका थिए। जब हसिनाले सम्बोधन सुरु गरिन्, प्रदर्शनकारीहरू घरभित्र पसेर पर्खालहरू भत्काउन थाले। केही समयमै क्रेन र एक्स्काभेटर ल्याएर घरलाई ध्वस्त पारियो।
हसिनाले सम्बोधनको क्रममा भनेकी थिइन्, “उनीहरू बुलडोजरले देशको स्वतन्त्रतालाई मेटाउन सक्दैनन्। भवन भत्काए पनि इतिहास मेटाउन सक्दैनन्।”
यसअघि सामाजिक सञ्जालमा ‘बुलडोजर र्याली’ को आह्वान गरिएको थियो। ‘२४ क्रान्तिकारी विद्यार्थी-जनता’ नामक संगठनले राति ९ बजे ‘बुलडोजर मार्च’ को घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार गरेको थियो। तर, प्रदर्शनकारीहरूले तोकिएको समयभन्दा अगाडि नै शेख मुजिबुर रहमानको घरमा तोडफोड गर्न पुगे।
हिंसाका क्रममा सुरक्षाकर्मीहरू उपस्थित भए पनि भिड नियन्त्रण गर्न असफल रहे। केही प्रदर्शनकारी घरभित्र छिरेर तोडफोडमा उत्रिए भने केहीले बाल्कोनीमा चढेर आक्रमण गरे। केही स्थानमा आगलागी भएको खबरसमेत आएको छ।
घटनाका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्। अवामी लिगले फेब्रुअरी ६ मा सडक आन्दोलन गर्ने तयारी गरिरहेको थियो। पार्टीले हसिनाविरुद्धको मुद्दा र अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा प्रदर्शनको आह्वान गरेको हो।


















प्रतिकृया