प्रधानमन्त्री ओलीको अग्रसरतामा त्रिवि सुधारको विषयमा अनौपचारिक बैठक सम्पन्न

प्रधानमन्त्री ओलीको अग्रसरतामा त्रिवि सुधारको विषयमा अनौपचारिक बैठक सम्पन्न

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको पहलमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) भित्रका समस्या र सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घन्टा लामो अनौपचारिक विश्वविद्यालयसभा (सिनेट बैठक) सम्पन्न भयो। बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, र पब्लिक क्याम्पस प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपायहरू प्रस्तुत गरे।

बैठकमा प्रधानमन्त्री ओलीले त्रिविका पदाधिकारीहरूलाई सबै क्षेत्रका समस्या र मागहरूको गहन अध्ययन गरी सरोकार भएका पक्षहरूसँग थप छलफल गर्न र ठोस प्रस्तावहरू तयार गर्न निर्देशन दिए। गत मंसिर २७ गते कीर्तिपुरमा सम्पन्न त्रिवि सिनेट बैठकमा सदस्य र पदाधिकारीबीचको दूरी महसुस भएपछि विस्तृत छलफलका लागि यो बैठक आयोजना गरिएको थियो।

सिनेट सदस्यहरूले पहिलो पटक यस्तो खुला छलफलको अवसर पाएकोमा धन्यवाद व्यक्त गरे। सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त तयारी र सहमति जुटेपछि मात्रै औपचारिक बैठकमा प्रस्ताव पेस गर्न आग्रह गरे। उनले मंसिर २७ को बैठकका विषयलाई सामाजिक सञ्जालमा तोडमोड गरी प्रस्तुत गरिएकोमा चिन्ता व्यक्त गर्दै सिनेटरहरूलाई सार्वजनिक लोकप्रियताभन्दा समस्या समाधान र सुधारमा केन्द्रित हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले त्रिविको विकास, साख, र मर्यादा जोगाउन सबै पक्षलाई आह्वान गरे। उनले विश्वविद्यालयका जनशक्ति, कार्यहरू, र लक्ष्यहरूलाई पारदर्शी रूपमा त्रिविको वेबसाइटमा सार्वजनिक गर्न र चल–अचल सम्पत्तिको अध्ययन प्रतिवेदनलाई कार्यान्वयनका लागि कार्यदल गठन गर्न पनि सुझाव दिए।

साथै, त्रिवि सेवा आयोगले नियमित परीक्षा सञ्चालन नगरे औचित्यमा पुनः विचार गर्नुपर्नेमा जोड दिए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्राडा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायतको सहभागिता रहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स