ट्रम्पको नीतिले सेयरबजारमा पहिरो, कुन देशको सेयरबजार कतिले घट्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २४ गते
ट्रम्पको नीतिले सेयरबजारमा पहिरो, कुन देशको सेयरबजार कतिले घट्यो?
AdvertisementAds

२०२५ को अप्रिल महिनाको पहिलो साता अन्तर्राष्ट्रिय सेयर बजारका लागि अत्यन्तै तनावपूर्ण रह्यो। अप्रिल २ तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ आयात कर नीतिले विश्वभरका लगानीकर्ताबीच ठूलो त्रास फैलाएको छ।

ट्रम्पले चीन, भियतनाम, मेक्सिको, युरोपेली संघ लगायतका प्रमुख व्यापारिक साझेदारमाथि “रेसिप्रोकल ट्यारेिफ” अर्थात् आपसी बराबरीको आधारमा उच्च दरमा आयात शुल्क लगाउने घोषणा गरेपछि विश्व बजारमा तीव्र गिरावट सुरु भयको हो।

यस नीतिले दुई दिनभित्रै अमेरिकी सेयर बजारबाट लगानीकर्ताको करिब ६.६ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति घटेको अनुमान गरिएको छ।

ट्रम्पको घोषणापछि अमेरिकी सेयर बजारमा अप्रिल ३ र ४ तारिखमा उल्लेखनीय गिरावट देखियो। S&P 500 सूचक ९.०८ प्रतिशतले घट्दा प्रविधि कम्पनीहरूको उपस्थिति धेरै रहेको Nasdaq 100 सूचक झण्डै १० प्रतिशतले ओरालो लाग्यो। डाओ जोन्स इन्डस्ट्रियल एभरेज पनि साप्ताहिक रूपमा करिब ८ प्रतिशतले घटेको थियो।

ट्रम्पले युरोपेली वस्तुहरूमा २० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेपछि युरोपेली बजारहरूमा झनै नकारात्मक प्रभाव देखियो। इटाली, फ्रान्स, र जर्मनीका प्रमुख सूचकहरू ८ देखि १० प्रतिशतको गिरावटमा गएका छन्। युरोपेली बैंकहरूको स्थिति झनै कमजोर देखिएको छ, जसको परिणामस्वरूप युरोपियन बैंक इन्डेक्समा १३ प्रतिशतभन्दा बढीको गिरावट आएको हो।

AdvertisementAds

एसियाली बजारहरू पनि यस निर्णयबाट अछुतो रहन सकेनन्। जापानको निक्केइ ९ प्रतिशतले ओरालो लाग्दा, चीनको प्रमुख CH20 सूचकमा पनि झण्डै ९.३ प्रतिशतको गिरावट देखियो। यद्यपि शाङ्घाई कम्पोजिट सूचक तुलनात्मक रूपमा स्थिर देखिएको छ। भारतको सेन्सेक्समा २.६५ प्रतिशतको गिरावट देखिदा हङकङको ह्याङसेङ सूचक पनि तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

ट्रम्पको ट्यारेिफ नीतिको प्रभाव अमेरिका र क्यानाडा मात्र नभई दक्षिण अमेरिकी तथा अन्य क्षेत्रीय बजारहरूमा पनि देखिएको छ। अर्जेन्टिनाको मर्वाल इन्डेक्स ११.३८ प्रतिशतले घट्दा, क्यानाडाको सूचक पनि ६ प्रतिशतभन्दा बढीले झरेको छ। केही साना बजारहरू भने तुलनात्मक रूपमा स्थिर देखिएका छन्। कोलम्बियाको बजारमा एक प्रतिशतको वृद्धि देखिएको छ भने बंगलादेशको बजारमा खासै परिवर्तन देखिएको छैन।

धेरै विश्लेषकहरूले ट्रम्पको यो ट्यारेिफ नीतिलाई अमेरिकी इतिहासकै एक ठूलो नीतिगत जोखिमको रूपमा लिएका छन्। चीनमाथि ५४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र अन्य देशहरूमाथि समेत दोहोरो अंकको आयात शुल्क लागु हुने बताइएपछि, विश्व व्यापारमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ।

यस नीतिका कारण अमेरिका स्वयं पनि आर्थिक मन्दीको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ। जेपी मोर्गन, गोल्डम्यान स्याक्स र मोर्निङस्टार जस्ता प्रतिष्ठित वित्तीय संस्थाहरूले अमेरिका २०२५ भित्र मन्दीमा जान सक्ने सम्भावना ५० प्रतिशत पुगेको विश्लेषण गरेका छन्।

अहिलेको परिस्थितिलाई झनै जटिल बनाउँदै, ट्रम्पको नयाँ ट्यारेिफ नीति अप्रिल ९ देखि औपचारिक रूपमा लागू हुँदैछ। यदि प्रभावित राष्ट्रहरूले यसको प्रतिकारस्वरूप व्यापारमा थप अवरोध गर्ने नीति लिएका खण्डमा विश्व बजारमा अझ ठूलो अशान्ति देखिन सक्ने विश्लेषण गरिएको छ।

यो गिरावट सन् २०२० को कोभिड–१९ महामारीपछिको सबैभन्दा गम्भीर क्षणको रूपमा लिइएको छ। यदि यही अवस्था यथावत् रह्यो भने आगामी दिनहरूमा विश्व अर्थतन्त्र थप चुनौतीपूर्ण मोडमा जान सक्ने संकेत देखिएको छ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स