भुटानसहित ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजिप्ट, जिबुटी लगायत ३६ वटा प्रमुख अमेरिकी साझेदार देशसहित विभिन्न देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने योजना बनाउँदैछ। वाशिङटन पोस्टका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित एक मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको छ।
मेमोमा उल्लिखित सूचीमा रहेका देशहरूलाई विदेशमन्त्रीले तोकेको नयाँ सर्तहरू पूरा गर्न ६० दिनको समय दिइनेछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ती देशहरूले विश्वसनीय परिचयपत्र प्रदान गर्ने सरकारी कार्यालयको अभाव र धेरै नागरिकले भिसा नियम उल्लङ्घन गरेको जस्ता मापदण्ड पूरा नगरेका छन्।
तर, तेस्रो देशका नागरिकलाई स्वीकार गर्न तयार भएमा ती देशले छुट पाउन सक्ने पनि उल्लेख छ।
यात्रा प्रतिबन्धको सम्भावित सूचीमा अफ्रिकाका २५ देशहरू छन्, जसमा अंगोला, बेनिन, बुर्किना फासो, केप भर्डे, क्यामरुन, आइभोरी कोस्ट, कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, माउरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे समावेश छन्।
क्यारेबियन क्षेत्रबाट एन्टिगुआ र बार्बुडा, डोमिनिका, सेन्ट किट्स र नेविस, सेन्ट लुसिया पनि सूचीमा छन्।
एसियाबाट भुटान, कम्बोडिया, कीर्गिजस्तान र सिरिया तथा ओसिनियाबाट टोंगा, टुभालु र भानुआतुलाई सूचीमा राखिएको छ।
यी देशहरूले बुधबार बिहान ८ बजेसम्म नयाँ सर्त पूरा गर्ने प्रारम्भिक योजना विदेश मन्त्रालयलाई बुझाउनुपर्नेछ। यो म्यादपछि यात्रा प्रतिबन्ध लागु हुने वा नहुने निश्चित छैन।
(एजेन्सीहरुको सहयोगमा)