सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ३९ हजार १ सय ७९ कित्ता सेयर निष्काशन गरेको हो।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस सेयर निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
बैंकले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर ८ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। बोर्डबाट प्राप्त अनुमतिअनुसार बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशन गर्न पाएको हो।
बैंकले आईपीओ निष्काशनको अनुमति माग्दै गत वैशाख २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
सीडीएससीको तथ्यांकअनुसार शनिबार बेलुकासम्म सालपा विकास बैंकको आईपीओमा १९ लाख ६२ हजार ६९ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ३० करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १६.०३ गुणा बढी हो।



















प्रतिकृया