‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त योजनाको १६ करोड इकाई बिक्रीका लागि माघ ४ गतेदेखि आवेदन खुला गरिएको थियो।
यो योजना नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक तथा नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको छ। सुरुमा माघ ८ गतेसम्म इकाई बिक्री बन्द गर्ने तय भए पनि मागअनुसार आवेदन नपरेपछि आवेदन अवधि माघ १८ गतेसम्म थप गरिएको थियो। तर निर्धारित अवधिअघि नै मागभन्दा बढी आवेदन प्राप्त भएपछि आजै बिक्री आवेदन बन्द गरिन लागेको कम्पनीले जनाएको छ।
कुल निष्काशनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई नेपाल लाइफ इन्स्योरेन्स र १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले पुस १३ गते १० रुपैयाँ अंकित दरका १६ करोड इकाईसहित १ अर्ब ६० करोड रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गर्न अनुमति दिएको थियो।















प्रतिकृया