सिटिजन्स क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ‘सिटिजन्स सन्तुलित योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याएको हो। जसमध्ये १ करोड ५० लाख इकाई (कुल निष्काशनको १५ प्रतिशत) कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड का लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनामा लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ।
१० वर्ष अवधिको यस योजनामा लगानी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू मार्फत आवेदन दिन सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि सि–आस्बा मार्फत आवेदन दिन सकिने व्यवस्था छ।
इकाई निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कोष प्रबर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘BBB+’ तथा योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी–३ रेटिङ्ग प्रदान गरेको छ।
यस योजनाले बोर्डमा दर्ता तथा सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाका धितोपत्र, नेपाल सरकार वा सरकारको जमानत प्राप्त संस्थाले जारी गरेका ऋणपत्र, नेपाल राष्ट्र बैंकले जारी गरेका ट्रेजरी बिल, मुद्रा बजार उपकरण, बैंक निक्षेप तथा बोर्डले तोकिदिएका अन्य क्षेत्रहरूमा लगानी गर्न सक्नेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया