यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशनपछि बिक्री नभई बाँकी रहेको सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले अवितरित रहेको कुल ७० हजार ४८० कित्ता सेयर बिक्री गर्न लागेको हो।
कम्पनीका अनुसार बिक्रीका लागि राखिएको सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहको र ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहको रहेको छ। उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २९ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबुल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। कम्पनीले न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ।
सेयर बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर तथा धनगढी शाखामार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिकृया