व्यवसाय भनेको प्रतिस्पर्धा यात्रा हो। सामान्यतया, एउटा कम्पनीले अर्को कम्पनीलाई उछिनेर बजार कब्जा गर्न खोज्नु स्वाभाविक मानिन्छ। सफलताको मापन पनि प्रायः कसले बढी ग्राहक तान्यो भन्ने आधारमा गरिन्छ। तर पछिल्लो समय नेपाली व्यवसाय क्षेत्रबाट फरक र सकारात्मक संकेतहरू देखिन थालेका छन्—प्रतिस्पर्धी कम्पनीहरूबीचको सहकार्य र शुभेच्छाको आदानप्रदानले यो क्षेत्रलाई परिपक्वताको बाटोमा अघि बढाइरहेको आभास गराएको छ। अहिले केही कम्पनीहरुले व्यवसाय भनेको प्रतिस्पर्धा मात्र नभई, सहकार्यको पनि यात्रा रहेको प्रष्ट परेका छन्।
जनवरी २५ मा नेपालको अग्रणी डिजिटल वालेट कम्पनी इसेवाले आफ्नो १६ औं वार्षिकोत्सव मनायो। लाखौं ग्राहकको रोजाइमा परेको यो कम्पनीलाई त्यसकै प्रमुख प्रतिस्पर्धी खल्तीले सार्वजनिक रूपमा बधाई दियो। यो घटनाले धेरैको ध्यान खिच्यो, किनभने प्रतिस्पर्धी कम्पनीहरू प्रायः आफ्नो उत्कृष्टता देखाउन तल्लीन हुने गर्छन्, तर यस्तो खुला शुभकामना दिने उदाहरण बिरलै पाइन्छ।
इसेवाको वार्षिकोत्सवको भोलिपल्ट जनवरी २६ मा खल्तीको ८ औं वार्षिकोत्सव थियो। यस अवसरमा इसेवासहित अन्य डिजिटल वालेटहरूले पनि खल्तीलाई शुभकामना दिए।
यो सकारात्मक लहर दूरसञ्चार क्षेत्रमा पनि देखियो। नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सव मनाइरहेका बेला टेलिकमका प्रमुख प्रतिस्पर्धी एनसेलले पनि शुभकामना सन्देश सार्वजनिक गर्यो। तुलनात्मक रूपमा बढी प्रतिस्पर्धात्मक मानिने दूरसञ्चार क्षेत्रमा यस्तो घटनालाई विशेष रूपमा हेरिएको छ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्दा यस्तो परिपाटी स्टार्टअप इकोसिस्टममा बढी प्रचलित छ। भारतमा केही समयअघि स्विगीको सेयर बजारमा सूचीकृत हुने अवसरमा यसको प्रमुख प्रतिस्पर्धी जोमाटोले खुलेरै बधाई दिएको घटना चर्चित बनेको थियो। भारतीय ग्राहकहरूले यसलाई सकारात्मक रूपमा लिँदै सहकार्य र प्रतिस्पर्धा एकसाथ अघि बढ्न सक्छ भन्ने दृष्टान्त मानेका थिए।
नेपाली व्यवसाय क्षेत्रमा देखिएको यो प्रवृत्तिले दुई महत्त्वपूर्ण सन्देश दिन्छ। पहिलो, यो व्यावसायिक परिपक्वताको संकेत हो। प्रतिस्पर्धा भइरहे पनि एकअर्काको उपलब्धिलाई सम्मान गर्न सक्ने सोचले व्यवसायिक वातावरणलाई स्वस्थ बनाउँछ। दोस्रो, यस्तो प्रवृत्तिले ग्राहकहरूका लागि अझ राम्रो सेवा र सुविधा दिने सम्भावना खोल्छ। जब प्रतिस्पर्धा नैतिक र स्वस्थ हुन्छ, कम्पनीहरू आफूलाई निरन्तर सुधार गर्न प्रेरित हुन्छन्।
नेपाली व्यवसाय क्षेत्र तुलनात्मक रूपमा सानो भए पनि यहाँ सौहार्द र सहकार्यको संस्कृतिले अर्थतन्त्रलाई दीर्घकालीन फाइदा पुर्याउने सम्भावना छ। इसेवा, खल्ती, नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीहरूले देखाएको यो सकारात्मक अभ्यास भविष्यमा पनि कायम रह्यो भने नेपाली बजार अझै परिपक्व र विश्वासिलो बन्नेछ









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया