वैकल्पिक विकास वृत्तसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित, संसदमा कहिले पेस हुने ?
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक मस्यौदा पारित गरेको छ। सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले तयार गरिएको यो विधेयक हालै अर्थ मन्त्रालयले ल्याएको हो।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले वैकल्पिक विकास वृत्तसम्बन्धी विधेयक तयार पारेको र उक्त विधेयक मन्त्रिपरिषदबाट पारित भइसकेको जानकारी दिए। उनका अनुसार सरकारले छिट्टै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछ र छिटोभन्दा छिटो संसदबाट पारित होस् भन्ने सरकारको चाहना रहेको छ।
अर्थमन्त्री पौडेलले विधेयकमार्फत सार्वजनिक पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे। साथै, उनले सरकारी कोषमा मात्र निर्भर भएर सार्वजनिक पूर्वाधारको स्रोत व्यवस्थापन सम्भव नभएको उल्लेख गर्दै वैकल्पिक स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार नयाँ विधेयकले पूर्वाधार विकासमा रहेको स्रोत व्यवस्थापनको चुनौती समाधान गर्न सहयोग गर्नेछ। कार्यक्रममा उनले विद्यार्थीहरूलाई देशभित्रै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वासका साथ अध्ययन गर्न प्रेरित पनि गरे।