करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत योग्य कारोबार संख्या ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म उपहारका लागि योग्य कारोबार तथा बिलको संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।
विभागका अनुसार यसमा क्यूआरमार्फत गरिएको कारोबार र नगद कारोबारपछि उपभोक्ताले प्रणालीमा अपलोड गरेका भौतिक बिल दुवै समावेश छन्। साउन १ देखि १५ गतेसम्म क्यूआरबाट भएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य भएका छन्।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार शनिबारदेखि सुरु गरिएको भौतिक बिल अपलोड सेवामार्फत पनि उपभोक्ताको उल्लेख्य सहभागिता देखिएको छ। हालसम्म नगद कारोबारका ३ हजार ४२७ वटा बिल प्रणालीमा प्रविष्ट भइसकेका छन्।
विभागले पहिलो चरणको प्रोत्साहन उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारपछि प्राप्त भौतिक बिल प्रणालीमा अपलोड गर्न उपभोक्तालाई आग्रह गरेको छ। उपहार घोषणा नहुँदासम्म बिल प्रविष्ट गर्न सकिने भएकाले योग्य कारोबारको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
पहिलो १५ दिन अर्थात् साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना विजेताले दैनिक एक–एक लाख रुपैयाँ र एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। साउन १६ गते उपहार घोषणा गर्ने तयारी भए पनि प्राविधिक तयारी पूरा नभएकाले केही ढिलाइ भएको विभागले जनाएको छ।
विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेको यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्नेछन्। कार्यक्रमअनुसार हरेक दिन एक जनालाई करकट्टीपछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई करकट्टीसहित १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।
प्रतिकृया