सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढीस्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्साको माध्यमबाट लगानी गर्दै नयाँ परियोजनासँग साझेदारी गरेको छ। यस परियोजना अन्तर्गत सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल “होलिडे इन धनगढी” IHG Hotels & Resorts ब्रान्डमा सञ्चालन हुनेछ। क्लव चौलानीका अध्यक्ष डा. राजेन्द्र के.सी. का अनुसार, पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारको रूपमा तीव्र विकास हुँदै गरेको धनगढीमा अन्तर्राष्ट्रिय स्तरको ब्रान्डेड आतिथ्य सेवा प्रदान गर्ने ठूलो सम्भावना रहेको छ। IHG को विश्वव्यापी अनुभव र गुणस्तरीय मापदण्ड अनुरूप अतिथिहरूलाई भरपर्दो र स्वागतयोग्य बसाइ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
होटलमा ११५ आधुनिक अतिथि कक्ष रहनेछन्, जसमा पाँच प्रिमियम सुइटसमेत समावेश छन्। प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म क्षमताको भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू र विशेष निजी डाइनिङ सुविधा समावेश छन्। अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थितिले धनगढी क्षेत्रको बढ्दो व्यवसायिक तथा पर्यटन मागलाई सम्बोधन गर्दै क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सूर्यज्योति लाइफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका अनुसार, यो लगानीले कम्पनीको दीर्घकालीन लाभ र स्थिर प्रतिफल सुनिश्चित गर्ने मात्र नभई पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनेछ। नेपालकै पहिलो ISO 9001:2015 प्रमाणित कम्पनी सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी रु. ५०१ करोड, जीवन बीमाकोष रु. ४,६१७ करोड, लगानी रु. ५,१२० करोड, नेटवर्थ रु. ६१८ करोड, १ लाख ७ हजार अभिकर्ता संख्या, ३६ लाख ३० हजार बीमालेख संख्या र देशैभर १७६ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ३५ घातक रोग विरुद्ध रु. ५० लाखसम्मको आर्थिक सुरक्षा पनि प्रदान गरिरहेको छ।



![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया