विश्वकपपछि बेटिङ एपमाथि निगरानी बढ्यो, दूरसञ्चार प्राधिकरणले २ लाख २३ हजारभन्दा बढी वेबसाइट ब्लक गर्यो

विश्वकपपछि बेटिङ एपमाथि निगरानी बढ्यो, दूरसञ्चार प्राधिकरणले २ लाख २३ हजारभन्दा बढी वेबसाइट ब्लक गर्यो

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग भइरहेका दुई लाख २३ हजार ५६८ वटा वेबसाइट तथा एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप र त्यससँग सम्बन्धित वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालित बेटिङ वेबसाइटहरू बन्द गर्ने अभियान अघि बढाइएको हो।

प्राधिकरणका अनुसार यसअघि सञ्चालनमा रहेका वेबसाइट बन्द गरिए पनि नयाँ नाममा पुनः खुल्ने क्रम जारी छ। यस वर्ष फिफा विश्वकप सुरु भएयता मात्रै २ लाख २३ हजार ५६८ वटा यस्ता वेबसाइट तथा एप बन्द गरिएको छ।

विश्वकपका क्रममा अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यस विषयमा विशेष चासो देखाएको थियो। त्यसपछि प्राधिकरणले कारबाहीलाई तीव्र बनाउँदै छुट्टै टास्क फोर्स गठन गरेको जनाएको छ।

टास्क फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङ वेबसाइट बन्द गर्ने काम गरिएको थियो।

उनका अनुसार आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइटका यूआरएल ब्लक गरिन्छ। एक–एक गरेर सबै वेबसाइट पहिचान गर्न कठिन हुने भएकाले अधिकारप्राप्त विभिन्न निकायले पहिचान गरेका बेटिङ साइट र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूलाई आईएसपीमार्फत बन्द गर्ने गरिएको उनले बताए।

महतोका अनुसार एउटा वेबसाइट बन्द भए पनि अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती रहेकाले नयाँ वेबसाइट देखिनेबित्तिकै त्यसलाई पनि ब्लक गर्ने काम निरन्तर भइरहेको छ। यसका लागि ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरी निगरानी र पहिचान गर्ने व्यवस्था गरिएको छ भने छुट्टै जनशक्ति पनि परिचालन गरिएको छ।

प्राधिकरणले यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भए सम्बन्धित विवरण github.com/NTA-OPM मा अद्यावधिक गराउन पनि आग्रह गरेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स