नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री वितरण आज भदौ १ गतेदेखि नियमित प्रक्रियाबाट गर्ने भएको छ। अब उपभोक्ताले आफूलाई पायक पर्ने सम्बन्धित ग्यास विक्रेतामार्फत सिलिन्डर खरिद गर्न सक्नेछन्।
निगमले आइतबार अति आवश्यक उपभोक्ताका लागि विभिन्न ग्यास उद्योगका ९ हजार ५६८ थान सिलिन्डर उपत्यकाका सातवटा बिक्री केन्द्रबाट वितरण गरेको थियो। निगमका कर्मचारी, जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीको सहयोगमा उक्त ग्यास वितरण गरिएको हो।
नियमित वितरणलाई व्यवस्थित बनाउन ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्या प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण तयार गरी दैनिक रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
ग्यास वितरण गर्दा घरायसी प्रयोजनका लागि ग्यास अत्यावश्यक भएका उपभोक्तालाई उच्च प्राथमिकता दिन निगमले निर्देशन दिएको छ।
ग्यास ढुवानी तथा वितरणमा सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सहजीकरण गर्न गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्ति सम्मिलित संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्नेछ।
नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगमको Quick Response Team (QRT) मा सम्पर्क गर्न सक्नेछन्।
QRT सम्पर्क नम्बर: ९८५१४५५१२४, ९८५१४५५१२८


प्रतिकृया