डिजिटल बैंकिङप्रति ग्राहकहरूको आकर्षण बढेपछि दक्षिण अफ्रिकाका ठूला बैंकहरूले धमाधम एटीएम बन्द गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
डिजिटल बैंकिङप्रति ग्राहकहरूको आकर्षण बढेपछि दक्षिण अफ्रिकाका ठूला बैंकहरूले धमाधम एटीएम बन्द गर्दै

दक्षिण अफ्रिकाका ठूला चार बैंकहरूले गत एक वर्षमा ४०० एटीएम बन्द गरेका छन्। डिजिटल बैंकिङप्रति ग्राहकहरूको आकर्षण बढ्दै जाँदा बैंकहरूले आफ्नो भौतिक उपस्थितिलाई घटाउने क्रम जारी राखेका छन्। तर, सबैभन्दा धेरै ग्राहक भएको बैंक क्यापिटेकले भने अन्य बैंकहरूले बन्द गरेको भन्दा झन्डै दोब्बर एटीएम थपेको छ।

बैंकहरूको पछिल्लो वित्तीय विवरणअनुसार, अब्सा, स्ट्यान्डर्ड बैंक, नेडबैंक र एफएनबीले डिसेम्बर २०२३ देखि जुन २०२४ को अवधिमा २३८ एटीएम बन्द गरेका छन्। जुन २०२३ देखि जुन २०२४ को एक वर्षको अवधिमा देशभरि ४०० एटीएमको संख्या घटेको देखिएको छ।

बैंकहरूले एटीएम बन्द गर्ने प्रवृत्ति निरन्तर जारी रहेको देखिएको छ । बैंकहरूले सन् २०१८ यता शाखा तथा एटीएम संख्यामा कटौती गर्दै डिजिटल सेवा प्रवर्द्धन गर्ने रणनीति अपनाएका छन्। २०१९ मा अब्सा बैंक सँग  सबैभन्दा धेरै एटीएमहरू थिए, डिजिटल बैंकिङप्रति ग्राहकको आकर्षण बढ्दै जाँदा हालसम्म लगभग ३,५०० एटीएम हटाइसकेको छ। एफएनबीले २०१९ देखि २०२४ को अवधिमा आफ्नो एटीएम संजाल ९९० ले घटाएको छ, स्ट्यान्डर्ड बैंकले पनि ठूलो संख्यामा एटीएमहरू बन्द गरेको छ, भने नेडबैंकले केही समय संजाल विस्तार गरे पनि पछिल्लो समयमा पुनः कटौती गर्न थालेको देखिन्छ।

बैंकहरूले एटीएम संख्या घटाउनुको पछाडि सुरक्षासम्बन्धी चिन्ता पनि प्रमुख कारण रहेको बताइएको छ। दक्षिण अफ्रिकामा एटीएम बम आक्रमण, लुटपाट, तथा नगद ढुवानीका क्रममा हुने हमलाहरू बढिरहेका छन्, जसले बैंकहरूलाई एटीएम संजाल संकुचित बनाउने निर्णय गर्न बाध्य बनाएको छ। साथै, नगदको प्रयोग घट्दै गएको कारण पनि बैंकहरूले डिजिटल कारोबारलाई प्राथमिकता दिन थालेका छन्।

तर, ग्राहकहरूको मागलाई ध्यानमा राख्दै बैंकहरूले आवश्यक ठाउँमा एटीएम सेवा निरन्तर उपलब्ध गराउने बताएका छन्। अब्साले प्रविधियुक्त एटीएम स्थापना गर्दै नगद कारोबारलाई अझ सहज बनाउने योजना रहेको बताएको छ। नेडबैंकले आफ्नो संजाललाई स्थिर राख्ने नीति लिएको छ, भने स्ट्यान्डर्ड बैंकले पुराना एटीएमहरू प्रतिस्थापन गर्ने र नयाँ प्रविधि भित्र्याउने तयारी गरिरहेको जनाएको छ।

अन्य बैंकहरूले डिजिटल कारोबारलाई प्राथमिकता दिँदै एटीएम बन्द गरिरहेका बेला क्यापिटेकले भने एटीएम संख्या बढाइरहेको छ। बैंकका अनुसार, डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै नगद उपलब्धतामा पनि ध्यान दिनु यसको रणनीति रहेको बताइएको छ। फेब्रुअरी २०२४ देखि अगस्ट २०२४ सम्म क्यापिटेकले ३६७ नयाँ एटीएम थपेको छ, जुन अन्य बैंकहरूको बन्द भएका एटीएम संख्याभन्दा धेरै हो। अगस्ट २०२३ देखि अगस्ट २०२४ सम्म क्यापिटेकले ७०५ नयाँ एटीएम स्थापना गरेको छ, जसले यसलाई सबैभन्दा धेरै एटीएम विस्तार गर्ने बैंक बनाएको छ। बैंकले नगद आवश्यक पर्ने ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ स्थानहरूमा एटीएम विस्तार गरेको बताएको छ।

क्यापिटेकले डिजिटल बैंकिङ प्रवर्द्धन गरे पनि दक्षिण अफ्रिकाका धेरै ग्राहकहरू अझै नगद प्रयोगमा भर पर्ने भएकाले एटीएम विस्तार आवश्यक रहेको जनाएको छ। बैंकले नगद सहज उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई डिजिटल बैंकिङबारे शिक्षित गराउने नीति लिएको बताएको छ। यस अनुसार, ग्राहकहरूको आवश्यकताअनुसार उपयुक्त स्थानहरूमा थप एटीएम स्थापना गर्ने र डिजिटल कारोबारको सहजता बुझाउने बैंकको रणनीति रहेको छ।

: बिजनेस टेकबाट अनुदित

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स