शिखर पावर डेभलपमेन्ट लिमिटेडले भोलि माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गर्न लागेको हो। कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको अंकित मूल्य रु.१०० रहेको छ।
सर्वसाधारणको लागि छुट्याइएको रकममा, जारी पूँजीको १० प्रतिशत अर्थात रु. ९ करोड ८० लाख बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरिनेछ। यसका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १–१० (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालिचौर, श्रीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसका सम्पूर्ण वडाहरू) तथा विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४, ५) का बासिन्दा समावेश छन्। बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि छुट्याइएको छ।
यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दा वा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयर सम्पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी जारी गरिने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० र अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आवेदन माघ २० सम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन माघ ९ देखि माघ २० सम्म लिन योजना गरिएको छ। बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ, बाग्लुङ बजार, प्रभु बैंक ग्वालीचौर बाग्लुङ, गरिमा विकास बैंक बुर्तिवाङ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण बैंक र वित्तीय संस्थाका तोकिएका शाखा तथा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल कार्यरत छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।

















प्रतिकृया