नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै डिजिटल कारोबार प्रणालीको सुरक्षा सुदृढ बनाउन ‘फाइनान्सियल कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (Fin-CERT)’ गठन गर्ने घोषणा गरेको छ। बोर्डले पूँजी बजारमा प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर जोखिम र सूचना प्रविधिसम्बन्धी चुनौती पनि बढेकाले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।
नीतिअनुसार सूचना प्रविधिसम्बन्धी जोखिम न्यूनीकरण गर्न तथा साइबर सुरक्षासम्बन्धी घटनाको तत्काल सम्बोधनका लागि बोर्डमा Fin-CERT स्थापना गरिनेछ।
यससँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) को सूचना प्रविधि प्रणालीको नियमित आईटी प्रणाली अडिट (IT System Audit) गरिने व्यवस्था मिलाइनेछ।
बोर्डले साइबर सुरक्षा, डाटा संरक्षण र सूचना प्रणालीको निरन्तरताका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘डिजास्टर रिकभरी सिस्टम (DRS)’ तथा व्यवसाय निरन्तरता योजना (Business Continuity Plan) लाई पनि सुदृढ बनाउने नीति लिएको छ।
सेबोनका अनुसार Fin-CERT लगानीकर्ता सुरक्षा र जोखिम न्यूनीकरण रणनीतिको महत्वपूर्ण हिस्सा हुनेछ। यसको माध्यमबाट डिजिटल पूर्वाधार सुरक्षित बनाई प्रणालीगत जोखिम न्यूनीकरण, लगानीकर्ताको डिजिटल विवरण तथा सम्पत्तिको सुरक्षा र साइबर सुरक्षालाई थप मजबुत बनाइनेछ।
त्यसैगरी आधुनिक प्रविधिको प्रयोगमार्फत बजारको वास्तविक समय (Real-time) मा निगरानी गर्ने क्षमता पनि सुदृढ बनाइनेछ, जसबाट कुनै पनि प्राविधिक समस्या वा साइबर आक्रमणको छिट्टै पहिचान गर्न सकिने बोर्डको योजना छ।
बोर्डले नेपालको पूँजी बजारलाई क्रमशः पूर्ण कागजरहित (Paperless) प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। यस क्रममा डिजिटल केवाईसी (KYC), डिजिटल हस्ताक्षर र स्मार्ट कन्ट्रयाक्ट जस्ता प्रविधि कार्यान्वयन गर्दा Fin-CERT मार्फत साइबर सुरक्षाको उच्च मापदण्ड कायम गरिने नीतिमा उल्लेख गरिएको छ।

प्रतिकृया