करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक नतिजा आज, १७ जनाले जित्दै १ लाखभन्दा बढी

करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक नतिजा आज, १७ जनाले जित्दै १ लाखभन्दा बढी
Advertisement Ads

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिकको पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत विजेता घोषणा गर्नेछ।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १७ जना विजेता छनोट गरिनेछ। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। कर कटाएपछि उनीहरूले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, सहभागीमध्येबाट एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्नेछ।

विभागका अनुसार योजनाको पहिलो महिनामै उपभोक्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका छन्। साउनको पहिलो १५ दिनमा यस्तो बिल अपलोड गर्ने कारोबार संख्या भने ७ हजार ७७ मात्रै थियो।

क्यूआर कारोबारमार्फत स्वतः उपहार योजनामा सहभागी हुने कारोबार संख्या पनि २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।

आजको कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा पुरस्कार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स