instainsta

ब्लकचेन र स्मार्ट कन्ट्रयाक्टको परीक्षणका लागि ‘रेगुलेटरी स्यान्डबक्स’ ल्याउँदै धितोपत्र बोर्ड

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
ब्लकचेन र स्मार्ट कन्ट्रयाक्टको परीक्षणका लागि ‘रेगुलेटरी स्यान्डबक्स’ ल्याउँदै धितोपत्र बोर्ड
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै पूँजी बजारमा नवप्रवर्तन र अत्याधुनिक वित्तीय प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न ‘रेगुलेटरी स्यान्डबक्स’ (Regulatory Sandbox) कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। यसअन्तर्गत ब्लकचेन (Blockchain) र स्मार्ट कन्ट्रयाक्ट (Smart Contract) जस्ता प्रविधिलाई नियन्त्रित वातावरणमा परीक्षण गरी धितोपत्र बजारमा प्रयोग गर्ने तयारी गरिएको छ।

बोर्डका अनुसार वित्तीय प्रविधि (FinTech) मा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्न सम्बन्धित निकायसँगको समन्वयमा रेगुलेटरी स्यान्डबक्स सञ्चालन गरिनेछ। यसले नयाँ तथा जोखिमयुक्त प्रविधिलाई पूर्ण रूपमा बजारमा लागू गर्नुअघि सीमित दायराभित्र परीक्षण गर्ने अवसर प्रदान गर्नेछ।

नीतिअनुसार धितोपत्रको अभिलेखीकरणलाई थप सुरक्षित र पारदर्शी बनाउन ब्लकचेन प्रविधिको सम्भाव्यता अध्ययन गरिनेछ। साथै, कारोबार प्रक्रियालाई स्वचालित र भरपर्दो बनाउन स्मार्ट कन्ट्रयाक्ट को प्रयोगसम्बन्धी कार्य पनि अघि बढाइनेछ।

बोर्डले ‘डिजिटल फर्स्ट’ (Digital First) अवधारणाअनुसार पूँजी बजारका सेवाहरूलाई थप प्रविधिमैत्री बनाउने नीति लिएको छ। यसका लागि डिजिटल पहिचान (Digital ID), विद्युतीय केवाईसी (E-KYC) र डिजिटल हस्ताक्षर जस्ता प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई छिटो र सहज बनाइनेछ।

यसैगरी ब्लकचेनसहितका सुरक्षित डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पूँजी बजारलाई क्रमशः ‘पेपरलेस क्यापिटल मार्केट’ मा रूपान्तरण गर्ने योजना पनि नीतिमा समावेश गरिएको छ।

सेबोनले विश्वका विकसित पूँजी बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), ब्लकचेन र बिग डेटा को प्रयोग बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि आफ्नो नियामक प्रणालीलाई सोहीअनुसार आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

यसैअनुसार बोर्डले आफूलाई परम्परागत नियामकबाट ‘प्रविधि–सक्षम नियामक’ (Technology-Capable Regulator) का रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स