सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजारको विकास, विविधीकरण र लगानीकर्ताको विश्वास पुनःस्थापना आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

बजारको चिरफारसँगको विशेष अन्तर्वार्तामा उनले सेबोनले नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी पूँजी बजारको विस्तृत ब्लुप्रिन्ट र एक्सन प्लान तयार गरिरहेको जानकारी दिए।

उनका अनुसार ब्लुप्रिन्टमा पूँजी बजारको संरचनागत सुधार, नयाँ वित्तीय उपकरण (इन्स्ट्रुमेन्ट), नियामकीय सुधार, प्रविधि विस्तार, लगानीकर्ता संरक्षण तथा बजार विस्तारका विषय समेटिनेछन्।

डा. भट्टले धेरैले नियामक निकायलाई केवल नियम बनाउने संस्थाका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै सेबोनको भूमिका तीन तहको हुने बताए।

उनले सेबोनले नयाँ संस्था, नयाँ वित्तीय उपकरण र नयाँ बजार सिर्जना गर्ने, ती संरचनालाई व्यवस्थित रूपमा सञ्चालन गराउने तथा आवश्यक परे कारबाही गर्ने तीनवटै भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

उनका अनुसार स्वस्थ, सुरक्षित, प्रभावकारी र प्रतिस्पर्धी पूँजी बजार निर्माण गर्नु नै सेबोनको मूल उद्देश्य हो।

अध्यक्ष भट्टले नेपालको पूँजी बजार अझै धेरै सीमित रहेको स्वीकार गर्दै आगामी दिनमा बजारलाई व्यापक बनाइने बताए।

उनका अनुसार भविष्यमा इक्विटी बजारसँगै:

कर्पोरेट बन्ड, सरकारी ऋणपत्र, म्युनिसिपल बन्ड, डेरिभेटिभ्स, एक्सचेन्ज ट्रेडेड फन्ड (ETF), प्राइभेट इक्विटी, भेन्चर क्यापिटल,एसएमई प्लेटफर्म, विदेशी तथा गैरआवासीय नेपाली (NRN) लगानीका अवसर जस्ता क्षेत्रहरू विस्तार गर्ने तयारी भइरहेको छ।

डा. भट्टका अनुसार हाल सेबोनले नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ संस्था, लगानीकर्ता तथा अन्य सरोकारवालासँग छलफल गरिरहेको छ।

उनीहरूबाट प्राप्त सुझावलाई समेटेर ब्लुप्रिन्ट तयार गरिने र त्यसपछि सार्वजनिक रूपमा कार्ययोजना सार्वजनिक गरिने उनले बताए।

उनले भने, “नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेजस्तै सेबोनले पनि पूँजी बजार विकासको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नेछ।”

अध्यक्ष बनेलगत्तै सम्पत्ति शुद्धीकरण (AML/CFT) सम्बन्धी गतिविधि बढाएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यसलाई नियमित वार्षिक कार्यक्रमको हिस्सा मात्र भएको स्पष्ट पारे।

उनका अनुसार नेपाल हाल अन्तर्राष्ट्रिय निगरानी सूची (ग्रे लिस्ट) मा रहेकाले पूँजी बजारसँग सम्बन्धित संस्थालाई AML/CFT सम्बन्धी क्षमता अभिवृद्धि गर्नु नियमित जिम्मेवारी हो।

उनले सामान्य लगानीकर्ताले डराउनुपर्ने कुनै कारण नरहेको भन्दै अवैध स्रोतको रकम प्रयोग गर्नेहरू मात्र कानुनी दायरामा आउने बताए।

डा. भट्टले पूँजी बजारमा सबैका लागि समान अवसर (Level Playing Field) आवश्यक रहेको बताए।

उनले बजारमा कसैले नियम उल्लंघन गरे नियामकले हस्तक्षेप गर्ने तर स्वच्छ रूपमा लगानी गर्ने लगानीकर्ताको संरक्षण गर्नु सेबोनको जिम्मेवारी भएको बताए।

उनले भने, “बजारमा सबैले निष्पक्ष रूपमा खेल्न पाउने वातावरण बनाउनु नै हाम्रो लक्ष्य हो।”

अध्यक्ष भट्टले हालको नेप्से सूचक (Benchmark Index) सुधारको आवश्यकता रहेको स्वीकार गरे।

उनका अनुसार फ्लोट इन्डेक्सलाई थप परिमार्जन गरिने, अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ सूचक प्रणाली विकास गरिने, बजारको वास्तविक अवस्था झल्काउने इन्डेक्स तयार गरिने।

उनले आईपीओ, एफपीओ तथा प्रमोटर सेयरको लक-इन अवधि खुल्दा बजारमा हुने आपूर्ति असन्तुलनबारे पनि अध्ययन भइरहेको जानकारी दिए।

यस्ता विषयमा आवश्यक परे नियामकीय सुधार गरिने उनको भनाइ छ।

ब्रोकरमार्फत मार्जिन लेन्डिङ विस्तार गर्न राष्ट्र बैंक, बैंक तथा ब्रोकरहरूसँग छलफल भइरहेको उनले बताए।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार लगानीकर्ताको सेयर धितो राखेर ब्रोकरले बैंकबाट स्रोत जुटाउन सक्ने प्रणाली विकास गर्ने विषयमा काम भइरहेको उनको भनाइ छ।

डा. भट्टले बजेटमा उल्लेख भएका सुधारहरू कार्यान्वयन गर्ने तयारी भइरहेको बताए।

उनका अनुसार आगामी दिनमा सर्ट सेलिङ, इन्ट्राडे कारोबार, मार्जिन ट्रेडिङ विस्तार, कमोडिटी मार्केट,नयाँ वित्तीय उपकरण लगायतका विषय क्रमशः कार्यान्वयन गरिनेछन्।

सेबोनले आगामी दिनमा प्रविधिलाई प्राथमिकता दिने अध्यक्ष भट्टले बताए।

उनका अनुसार अनलाइन प्रणाली विस्तार, अक्सन प्रक्रियाको डिजिटाइजेशन, नियमन प्रणाली आधुनिकीकरण, सेबोनको सूचना प्रविधि पूर्वाधार विकासमा विशेष लगानी गरिनेछ।

हालको सरकार पूँजी बजारप्रति सकारात्मक रहेको भन्दै उनले लगानीकर्तालाई अनावश्यक रूपमा निराश नहुन आग्रह गरे।

उनका अनुसार सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक नीतिले निजी क्षेत्र तथा पूँजी बजारलाई प्राथमिकता दिएको छ।

उनले भने, “यस्तो अवसर पटक–पटक आउँदैन। लगानीकर्ताले धैर्य राख्नुपर्छ।”

अन्त्यमा अध्यक्ष भट्टले पूँजी बजारका सबै सरोकारवालालाई सकारात्मक सुझाव दिन आग्रह गर्दै सेबोन सुझाव ग्रहण गर्न सधैँ तयार रहेको बताए।

उनले मिडियालाई पनि तथ्यमा आधारित सूचना प्रवाह गरी पूँजी बजारप्रति विश्वास बढाउन सहयोग गर्न आग्रह गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स