सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्कासन आजदेखि खुला
सानिमा क्यापिटलले आज (फागुन ६ गते) देखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्ड को इकाई सार्वजनिक निष्कासनमा ल्याएको छ।
कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको यस फण्डको पहिलो चरणमा ४ करोड इकाई (४० करोड रुपैयाँ) बिक्री खुला गरिएको छ। सोमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकलाई तथा २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ, तर यदि सबै इकाई बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन खुला रहनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। लगानीकर्ताले सानिमा क्यापिटल, नक्साल वा सानिमा बैंक, नारायणचौरबाट आवेदन फाराम प्राप्त गर्न सक्छन्। साथै, मेरो सेयर तथा सी-आस्वा प्रणाली मार्फत अनलाइन आवेदन दिन सकिने सुविधा पनि उपलब्ध छ।
सानिमा बैंक लिमिटेड यस कोषको प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको छ। क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ A- (A Minus @) तथा योजना व्यवस्थापकलाई इक्राएनपि एएमसी क्वालिटी ३+ रेटिङ प्रदान गरेको छ, जसले व्यवस्थापकको गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्छ। खुलामुखी प्रकृतिको सानिमा फ्लेक्सी फण्ड लगानीकर्ताका लागि लामो वा छोटो अवधि दुबैका लागि उपयुक्त विकल्प हुनसक्छ।