स्टार्टअपको विकास र एसएमइ प्रमोशनमा सक्रिय रिभ्याम्प नेपाल अब व्यवसायलाई दोस्रो चरणको विस्तारमा सहयोग गर्ने नयाँ यात्रामा प्रवेश गरेको छ। सन् २०२१ मा प्रदर्शनीमार्फत उद्यमी र सर्वसाधारणलाई जोड्ने उद्देश्यले सुरु गरिएको यो प्लेटफर्मले हालसम्म स्टार्टअपलाई प्रारम्भिक वृद्धि (पहिलो फेज) मा साथ दिदै आएको थियो। अब भने कम्पनीले व्यवसायलाई नेपालभर व्यवसाय खरिदबिक्री, फ्रेन्चाइज, डिलरशिप र डिस्ट्रीब्युसनमार्फत विस्तार गराउन मद्दत गर्ने भएको छ।
रिभ्याम्प नेपालले हालै आफ्नो नयाँ ‘ग्रोथ प्लेटफर्म’ सार्वजनिक गरेको छ, जसले उद्यमीहरुलाई व्यवसाय विस्तारका लागि आवश्यक संरचना, प्रक्रिया र अवसरसम्म जोड्न सहयोग गर्ने छ।रिभ्याम्प नेपालको नयाँ ग्रोथ प्ल्याटफर्म निर्माणका लागि करिब १ वर्ष प्रविधि विकासमा लागेको रिभ्याम्प नेपाल सह संस्थापक सुरजराज पाण्डे बताउँछन्।
“अहिले नेपालमा थुप्रै ‘न्यू मनी’ आएको छ। विदेश गएको जनशक्ति अहिले आफूले बिदेशमा बसेर कमाएको पैसा नेपाल ल्याएर व्यवसायमा लगानी गर्ने धेरैको चाहना छ। तर नेपालमा व्यवसाय सुरु गर्ने चाहना हुँदा हुँदैपनि यहाँका विविध चुनौतीका कारण उहाँहरू व्यवसाय सुरु गर्न सकिरहनु भएको छैन। अर्कोतर्फ नेपालमै व्यवसायलाई एक चरणमा पुर्याउनु भएको व्यवसायीले थप व्यवसाय विस्तार गर्न चाहिने पूँजी जुटाउन झन्झट व्यहोर्नुपर्छ। यही समस्या समाधानका लागि हामीले रिभ्याम्प नेपाललाई नयाँ ढंगले अगाडि बढाउन लागेका छौ।” पाण्डेले भने।
सह–संस्थापक प्रकाश काफ्लेका अनुसार नेपालमा फ्रेन्चाइज किनबेच हुने भएपनि यो क्षेत्र अझै अव्यवस्थित छ। त्यसैले प्रविधिमार्फत व्यवस्थित प्रणाली तयार पार्दै व्यवसाय र इच्छुक लगानीकर्तालाई एउटै ठाउँमा जोड्ने लक्ष्य रिभ्याम्प नेपालले लिएको छ।
व्यवसाय किनबेच, फ्रेन्चाइज, डिलरशिप वा डिस्ट्रीब्युसनमार्फत आफ्नो व्यवसाय विस्तार गर्न चाहने उद्यमीले रिभ्याम्प नेपालको ग्रोथ प्लेटफर्ममा दर्ता गरेपछि कम्पनीले ती अवसरलाई प्रचारप्रसार गर्दै इच्छुक व्यक्तिहरूसम्म पुर्याउनेछ। साथै, व्यवसाय विस्तारका लागि आवश्यक कागजी प्रक्रिया, कन्सल्टिङ र पूर्वतयारीमा पनि रिभ्याम्प नेपालले सघाउनेछ।
पाण्डेका अनुसार नेपालमा व्यवसाय विस्तारको सबैभन्दा ठूलो बाधा पूँजीको अभाव नै हो। राम्रो ब्रान्ड बने पनि विस्तारका लागि पूँजी जुटाउन धेरै उद्यमीले संघर्ष गर्नुपर्ने अवस्था छ। तर अन्तर्राष्ट्रिय उदाहरणले फ्रेन्चाइज, डिलरशिप र डिस्ट्रीब्युसन मोडेलले नै धेरै कम्पनीलाई विश्वस्तरमा विस्तार गराएको छ। नेपालमा पनि यो मोडेललाई व्यवस्थित रूपमा लागू गर्न सके बलियो व्यवसायिक इकोसिस्टम निर्माण हुने र नयाँ लगानी सुरक्षित क्षेत्रमा आकर्षित हुने विश्वास रिभ्याम्प नेपालको छ। कम्पनीका अनुसार नयाँ प्लेटफर्म मार्फत अब उद्यमीले आफ्नो व्यवसायलाई थप सहज र व्यावसायिक ढंगले विस्तार गर्न सक्नेछन्।



प्रतिकृया