अर्थमन्त्री स्वर्णिम वाग्लेले जेनजी आन्दोलनको हस्तक्षेप नभएको भए मुलुक झन् गम्भीर आर्थिक र संस्थागत संकटतर्फ धकेलिने अवस्था रहेको बताएका छन्।
संसद्को अर्थ समितिमा बोल्दै अर्थमन्त्री वाग्लेले विगत केही वर्षमा पुँजी बजार र आर्थिक संस्थाहरू सीमित व्यक्तिहरूको प्रभावमा पुगेको स्वीकार गर्दै त्यसबाट देशलाई बाहिर निकाल्न अहिले सरकारले सुशासन र संरचनागत सुधारलाई प्राथमिकतामा राखेको बताए।
उनले जेनजी आन्दोलनप्रति आभार व्यक्त गर्दै भने, “जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्कालोमा जाकिने क्रममा रहेछौं।”
अर्थमन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ र आर्थिक अपचलनमार्फत ठूलो सम्पत्ति आर्जन गरेको दाबी गरे। उनले सर्वसाधारणको १५–१६ अर्ब रुपैयाँ बराबरको रकम अपचलन गरेर केही व्यक्तिले बजारमात्र होइन, राजनीतिक नेतृत्व र आर्थिक संस्थामाथि समेत प्रभाव जमाउने गरेको उल्लेख गरे।
“मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गर्ने, राजनीतिलाई प्रभावित गर्ने र केही प्रभावशाली नेताहरूलाई गोजीमै राख्ने अवस्था बनेको थियो,” उनले भने, “राजनीतिक संस्थाहरू मात्रै होइन, आर्थिक संस्थाहरू पनि कब्जामा पारिएको कटु यथार्थ हामीले स्वीकार गर्नुपर्छ।”
अर्थमन्त्री वाग्लेले सरकारले अहिले पुँजी बजार सुधारका लागि विभिन्न संरचनागत सुधार अगाडि बढाइरहेको जानकारी दिए। स्टक एक्सचेन्जको पुनरसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख गर्दै उनले पुँजी बजारलाई विश्वस्तरीय बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।
उनले राष्ट्रपति रामचन्द्र पौडेल मार्फत सार्वजनिक भएको नीति तथा कार्यक्रममा पनि पुँजी बजारसम्बन्धी उदार नीतिहरू समेटिएको उल्लेख गरे। आगामी बजेटमार्फत ती नीतिलाई थप ठोस आकार दिने सरकारको तयारी रहेको उनको भनाइ थियो।
“हामी क्यापिटल मार्केटलाई प्रोफेसनलाइज गरेर विश्वस्तरीय मापदण्ड पछ्याउने गरी अगाडि बढ्छौं,” उनले भने।




















प्रतिकृया