रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइयो, बयान भोलि हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज बिहीबार साँझ काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एयरमार्फत ल्याएर भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको छ। भोलि शुक्रबारदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू हुनेछ।
त्रिभुवन विमानस्थल बाहिर उनका समर्थकले नाराबाजी गरेका थिए, र माइतीघरमा प्रदर्शनको तयारी भइरहेको छ। प्रहरीले लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी गरेको थियो।
स्वर्णलक्ष्मी सहकारीमा अनियमितताका साथै गाडी किन्न ९२ लाख रुपैयाँ लिएको आरोपमा छानबिन भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारीसहित बुटवल र चितवनका सहकारी हिनामिना तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि अनुसन्धान जारी छ। लामिछाने र उनकी पत्नीको खातामा भएको ५० करोड रुपैयाँ बराबरको कारोबारबारे समेत जाँच भइरहेको छ।