गौरा पर्वका अवसरमा कञ्चनपुरका ६ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन्।
गौरा सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले स्थानीय तहले निर्णय गरी बिदा दिएका हुन्। बिदाका कारण सम्बन्धित पालिकाभित्रका सरकारी कार्यालय तथा अन्य सार्वजनिक निकायका नियमित सेवा प्रभावित हुनेछन्।
न्वागी पर्वमा राक्सिराङ र कैलाशमा दुई दिन बिदा
चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
दुवै गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेका हुन्।
चेपाङ समुदायले भदौ २२ गते राति नयाँ खाद्यान्न तथा वनस्पति घरमा भित्र्याएर पूजा गर्ने र २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर न्वागी मनाउने परम्परा छ। नयाँ बाली आफूले उपभोग गर्नुअघि पितृलाई चढाउने तथा भूमि र प्रकृतिको पूजा गर्ने चलन रहेको छ।

प्रतिकृया