प्रधानमन्त्री ओलीको जवाफ: चीनसँग कुनै ऋणको सम्झौता भएको छैन, सधैँ ऋणको सारंगी किन बज्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नगरेको प्रष्ट पार्दै भ्रमणका उपलब्धिहरू अनुदानमा आधारित रहेको बताएका छन्। बिहीवार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको दिँदै कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।
ओलीले भने, ‘अस्ति नै देखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ । ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यसपल्ट बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ । हरेक परियोजना अन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा । अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्नेकुरा धेरै पल्ट भनिया छ । अब धेरै दोहोर्याउनु नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन, ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ यो । सधैँ ऋण, ऋण ऋण किन सारंगी बजेको छ ऋणको । होइन भनेर पटक पटक भनेका छौँ । ऋणसँग यो सरोकार राख्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए । बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरे ।