पिपुल्स पावर लिमिटेडले यही असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर १ बराबर ०.५० को अनुपातमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। यस प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ।
हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB Issuer Rating” प्रदान गरेको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसतभन्दा बढी जोखिम रहेको संकेत गर्छ। यस हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै कम्पनीको वेबसाइट, प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाहरू, साथै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।



















प्रतिकृया