पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले भोलि पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्नेछ। कम्पनीलेपहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी तथा खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि कुल सेयरको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरिनेछ।
साथै, बाँकी १५ प्रतिशत अर्थात ५६ करोड २५ लाख रुपैयाँ बराबरको ५६ लाख २५ हजार कित्टामध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलेले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ आवेदन अवधि आयोजना प्रभावित बासिन्दाका लागि छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ निष्काशन सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित बासिन्दाले नबिल बैंक (तानसेन, बर्दघाट, बुलिबटार, गैडाकोट), प्रभु बैंक (पाल्पा, बर्दघाट, परासी, बेलतारी) तथा सिद्धार्थ बैंक (पाल्पा, बर्दघाट, परासी) का शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिकृया