तीनवटा माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने विपक्षी दलहरूको निर्णय
विपक्षी दलहरूको बैठकले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले हालसम्म उठाएका तीनवटै माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक बस्न नहुने निष्कर्ष निकालेको छ।
आज नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी तीन दलको बैठकमा ‘भिजिट भिसा प्रकरण’ सम्बन्धी उच्चस्तरीय छानबिन समितिको गठन गर्ने माग यथावत राख्दै, गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभाको बैठक नबस्ने निर्णय गरियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले यो जानकारी दिएका छन्।
श्रम ऐन, २०६४ देखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ को सम्बन्धमा छानबिन आयोग गठन गर्न प्रतिपक्षी दलहरूले जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले उक्त प्रकरणलाई स्थायी रूपमा समाधान गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने पनि निर्णय गरेको छ।