साउनसम्म कुर्नु पर्दैन, बजेट आजैदेखि लागु हुन्छ: अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर आजैदेखि प्रक्रिया सुरु गर्ने बताएका छन्। बिहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले साउन कुर्नु नपर्ने भन्दै बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयनका लागि कार्ययोजना बनाउने काम थालिएको जानकारी दिए।
बजेटको आकार यथार्थपरक रहेको, पुँजीगत खर्च बढाइएको, चालू खर्च सीमित गरिएको र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण बढाइएको उनले बताए। बजेटमा राजस्व लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले वैकल्पिक वित्तमार्फत स्रोत परिचालन, सामाजिक सुरक्षा प्रणालीमा सुधार, र डिजिटल भुक्तानी तथा अग्रिम आयकर हटाउने नीतिगत सुधारहरू पनि प्रस्तुत गरिएको बताए।
योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बजेट कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि मन्त्रालयहरूसँग समन्वय गर्दै कार्ययोजना बनाउने बताए। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना र मौद्रिक नीतिसम्बन्धी कानुनी सुधारलाई सकारात्मक बताए।