नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै नेपालको पूँजी बजारमा विदेशी संस्थागत लगानी भित्र्याउन ‘क्वालिफाइड फरेन इन्स्टिच्युसनल इन्भेस्टर (QFII)’ फ्रेम्वोर्क कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। यसमार्फत विश्वका ठूला संस्थागत लगानीकर्तालाई नेपालको धितोपत्र बजारमा पोर्टफोलियो लगानी गर्न आकर्षित गर्ने बोर्डको योजना छ।
नीतिअनुसार विदेशी लगानीकर्तालाई बजारमा प्रवेश गराउँदा सावभौम सम्पत्ति कोष (Sovereign Wealth Funds), पेन्सन कोष, अन्तर्राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी तथा सामूहिक लगानी कोष (Mutual Funds) जस्ता दीर्घकालीन संस्थागत लगानीकर्तालाई प्राथमिकता दिइनेछ।
विदेशी संस्थागत लगानीकर्तालाई चरणबद्ध र जोखिममा आधारित ढंगले दोस्रो बजारमा प्रवेश गराइने बोर्डले जनाएको छ। यसबाट बजारको गहिराइ र तरलता बढ्ने अपेक्षा गरिएको छ।
विदेशी लगानीकर्ताको प्रवेश प्रक्रिया सहज बनाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी QFII Framework तयार गरिने नीतिमा उल्लेख छ। यसअन्तर्गत विदेशी लगानीकर्ताको प्रवेश, दर्ता र लगानी प्रक्रियालाई स्पष्ट, पारदर्शी र पूर्वानुमानयोग्य बनाइनेछ।
त्यसैगरी, लगानीबाट प्राप्त मुनाफा तथा प्रतिफल फिर्ता (Repatriation) लैजाने प्रक्रिया, विदेशी विनिमय व्यवस्थापन र करसम्बन्धी व्यवस्थालाई पनि लगानीमैत्री बनाउने बोर्डको योजना छ।
विदेशी लगानीका लागि आवश्यक पूर्वाधार विकासलाई समेत नीतिले प्राथमिकतामा राखेको छ। यसअन्तर्गत अन्तर्राष्ट्रिय कस्टोडियन सेवा (International Custodian Services) तथा सीमापार सहकार्य (Cross-border Collaboration) सम्बन्धी अध्ययन र आवश्यक व्यवस्थापन गरिनेछ।
नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय लगानीकर्तामाझ प्रवर्द्धन गर्न ‘इन्टरनेशनल इन्भेस्टर आउटरिच प्रोग्राम’ तथा विभिन्न रोड–शो सञ्चालन गर्ने योजना पनि बोर्डले अघि सारेको छ।

प्रतिकृया