नेपाल एसबिआई बैंक लिमिटेडले आज (असार ३० गते)देखि ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा जारी गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र अंकित मूल्य १,००० रुपैयाँका दरले कुल ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ। तीमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सा भित्र ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन्, भने अधिकतममा उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिनेछ। यो ऋणपत्र निष्काशन छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गते बन्द हुनेछ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निर्वाह गरेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’ अनलाइनमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘ICRANP-IR AA’ अर्थात डबल ए रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षित रहेको जनाउँछ।














प्रतिकृया