नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई सेयर कारोबार गर्न सहज बनाउने भएको छ। अहिले बैंक वित्तीय संस्थाहरुले खरिद गरेको सेयर १ वर्ष होल्ड गरेर मात्रै बेच्न पाईने व्यवस्था छ। किनेको सेयर १ वर्षपछि मात्रै बेच्न पाईने व्यवस्थाका कारण बैंक वित्तीय संस्थाहरुले खुलेर सेयरमा लगानी गर्न सकेका छैनन्। १ वर्षपछि बजारको अवस्था कस्तो रहन्छ भन्ने आंकलन गर्न कठिन हुने भएका कारण उनीहरु बजारप्रति आकर्षित नभएका हुन्। यहि विषयलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यो व्यवस्थामा सहजीकरण गर्न लागेको राष्ट्र बैंकका एक कार्यकारी निर्देशक बताउँछन्। कुनै सीमा नराखी खुल्ला गरिदिने वा किनेको ९० दिन (३ महिना) पछि बेच्न पाईने भन्ने विषयमा भने टुंगोमा पुगिनसकेको उनको भनाई छ। तत्कालिन समयमा बैंक वित्तिय संस्थाहरुको सेयर बजारमा एक्सपोजर ठुलो हुँदाको अवस्था र बजार जोखिमयुक्त हुँदै जाँदा लिएको सो नितीलाई समयानुकुल परिमार्जन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको अधिकारीहरु बताउँछन्।
२०७८ जेठ ११ का दिन राष्ट्र बैंकले एउटा सर्कुलर जारी गर्यो। सो सर्कुलर मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले सेयर बजारमा अल्पकालीन लगानी गर्न प्रतिबन्ध लगायो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा १ वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाईने व्यवस्था सो सर्कुलर मार्फत गरियो। त्यसअघि बैंक वित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा रोक थिएन। त्यस्तै सोहि सर्कुलर मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले लघुवित्त वित्तिय संस्थाहरुको सेयरमा लगानी गर्न नपाईने व्यवस्था पनि गरियो।
प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाईने व्यवस्था:
जेठ ११ को सर्कुलर मार्फत राष्ट्र बैंक सेयरको लगानीमा यतिसम्म कठोर भयो कि खरिद गरेको सेयर १ वर्षपछि बेच्दा पनि १ आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न मिल्ने व्यवस्था गर्यो। र जेठ ११ अघि किनेका सेयरहरु असार मसान्त सम्ममा बिक्रि गरिसक्न निर्देशन दियो। कमर्सियल बैंक, विकास बैंक र लघुवित्त हरुलाई आईन्दा लघुवित्तको सेयर नकिन्न निर्देशन दियो भने किनिसकेका सेयरहरु २०७८ को पुष मसान्त भित्र बेचिसक्न निर्देश गर्यो।
राष्ट्र बैंकको यो सर्कुलरले बैंक वित्तिय संस्थाहरुलाई सेयर बजारबाट एक्जिट हुन बाध्य तुल्यायो। औपचारिक रुपमा यस्तो सर्कुलर आउनुअघि राष्ट्र बैंकका उच्च पदस्थहरुले बैंक वित्तिय संस्थाका प्रतिनिधि हरुलाई सेयर बजार ‘बबल’ भैसकेको र जुनसुकै बेला फुट्नसक्ने भन्दै सेयर बेचेर बाहिरिन अनौपचारिक सल्लाह दिएका थिए। अब राष्ट्र बैंकले सेयर बजारलाई मत्थर बनाउन कडा नीति लिनसक्ने संकेत पनि राष्ट्र बैंकले बैंक वित्तिय संस्थाहरुलाई दिएको थियो।
राष्ट्र बैंकले सो सर्कुलर जारी गर्दा नेप्से सूचक २८५० को आसपासमा थियो। त्यसपछि नेप्से बढेर ३२२७ सम्म पनि पुग्यो र त्यहाँबाट झर्न थाल्यो। त्यसको केहि समयपछि नै नेप्से सूचक १८०० आसपासमा झरिसकेको थियो। नेप्से सूचक छोटो समयमै उच्च अंकले घट्नुमा राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाई (एउटा बैंक वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंक वित्तीय संस्थाबाट बढीमा १२ करोड) प्रमूख कारण थियो।
प्राथमिक पूँजीको २० प्रतिशतसम्म बेच्न पाईने व्यवस्था:
राष्ट्र बैंकको सो सर्कुलर पछि बैंक वित्तिय संस्थाहरुले आफ्नो होल्डिङ्ग स्वाट्टै घटाए। किनेको सेयर १ वर्ष सम्म बेच्न नपाईने र १ वर्षपछि पनि कोर क्यापिटलको १ प्रतिशत मात्रै बेच्न पाईने भएपछि बैंक वित्तिय संस्थाहरु बजार घटेर १८०० कै इन्डेक्समा आउँदा पनि सेयर खरिद गर्न उत्साहित भएनन्। त्यतिबेला बैंक वित्तिय संस्थाहरुले यो विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकलाई सुझाव दिएका थिए। त्यसपछि राष्ट्र बैंक आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षा मार्फत १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २०% सम्म बिक्रि गर्न पाउने व्यवस्था मिलाउने नीति लिएको थियो।



















प्रतिकृया