नेपाल–चीन सीमाको भूकम्पले चीनमा ९ जनाको मृत्यु, गाउँमा घरहरू भत्किए
नेपाल–चीन सीमाक्षेत्रमा आज बिहान गएको भूकम्पले चीनमा ठूलो क्षति पुर्याएको छ। जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट कम्तीमा ९ जनाको ज्यान गएको र केही घरहरू भत्किएका छन्। चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरूको उद्धरणमा यो तथ्य सार्वजनिक गरेको हो।
भूकम्प नेपाली समयअनुसार बिहान ६:५० बजे गएको थियो। नेपालको भूकम्प मापन केन्द्रले भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जनाएको छ भने चीनको भूकम्प नेटवर्क केन्द्रले यसलाई ६.८ म्याग्निच्युड मापन गरेको छ। यो भूकम्प जमिनको १० किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएको थियो। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँहरूमा घरहरू भत्किएका छन्।
चीनको भूकम्प नेटवर्क केन्द्रका तथ्यांकअनुसार यो भूकम्प गएको स्थानको २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षमा ३ म्याग्निच्युडभन्दा माथिका २९ वटा भूकम्प रेकर्ड भएका छन्। तर, आजको भूकम्प यो क्षेत्रमा हालसम्मकै सबैभन्दा शक्तिशाली भएको पुष्टि भएको छ।