सर्वसाधारणका लागि वैशाख १२ देखि नेको इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा आउँदै
नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर बाँडफाँडपछि बाँकी रहेका अवितरित सेयरहरू वैशाख १२ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ।
हकप्रद बाँडफाँडपछि संस्थापक समूहतर्फ ४३,७७९.५२ कित्ता र सर्वसाधारण समूहतर्फ १,८१,४८१.८३ कित्ता गरी कुल २,२५,२६१.३५ कित्ता सेयर बाँकी रहेका छन्। यी अवितरित सेयरहरू न्यूनतम प्रतिकित्ता मूल्य रु. १०० मा लिलामी प्रक्रियाबाट बिक्री गरिनेछ।
इच्छुक व्यक्तिले न्यूनतम १०० कित्ता देखि अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्म माग गर्न सक्नेछन्। लिलामीमा सबै सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लिलामीको आवेदन वैशाख १२ गतेदेखि खुल्नेछ र अन्तिम मिति वैशाख २१ गतेसम्म तोकिएको छ। यस लिलामीको बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।