अमेरिकाबाट झन्डै ७ हजार नेपाली फर्कनुपर्ने, टीपीएस सुविधा खारेज
अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाली नागरिकलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा अब अन्त्य गर्ने निर्णय गरेको छ। होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमका अनुसार, नेपालले भूकम्पपछिको पुनर्निर्माणमा पर्याप्त प्रगति गरेको भन्दै यो निर्णय लिइएको हो।
करिब १२,७०० नेपाली TPS अन्तर्गत अमेरिकामा बसोबास गरिरहेका छन्, जसमा ५,५०० जनाले स्थायी बसोबास अनुमति (P.R.) प्राप्त गरिसकेका छन्। TPS सुविधा नपाएको करिब ७,००० नेपालीलाई २०२५ अगस्ट ५ सम्म आप्रवासन स्थिति परिवर्तन गर्न वा देश छोड्न समय दिइएको छ। त्यसपछि उनीहरू निष्काशनको जोखिममा पर्न सक्छन्।
TPS सुविधा अस्थायी रूपमा युद्ध, प्रकोप वा असाधारण अवस्थाका कारण प्रभावित देशका नागरिकलाई अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ। सन् २०१८ मा ट्रम्प प्रशासनले TPS अन्त्य गर्ने प्रयास गरेको थियो, तर सन् २०२३ मा जो बाइडेन प्रशासनले यसलाई निरन्तरता दिएको थियो।