एनसेलले २०२५ भित्र नेपालमा थ्रिजी सेवा बन्द गर्ने
निजी क्षेत्रका प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२५ भित्र थ्रिजी सेवा बन्द गर्ने घोषणा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले काठमाडौंमा आयोजित ‘रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ कार्यक्रममा उक्त जानकारी दिएका हुन्।
कायुमोभका अनुसार एनसेलले आगामी वर्षको अन्त्यसम्म थ्रिजी सेवा बन्द गर्ने तयारी गरिरहेको छ। यसका लागि उनले सरकारले भीओएलटीई प्रविधि नचल्ने मोबाइल फोनको आयातमा कडाइ गर्नुपर्ने आग्रह गरेका छन्।
उनले थप्दै भने, “दक्षिण एसियाका अन्य देशहरूमा टुजी र थ्रीजी सेवा बन्द गरिसकिएको छ, र अब नेपाल पनि नयाँ प्रविधितर्फ अघि बढ्नुपर्ने समय आएको छ।” एनसेलका सीईओका अनुसारकम्पनीले १२ देखि ३६ महिनाभित्र टुजी र थ्रीजी सेवाहरू बन्द गर्नका लागि सरकार र अन्य नियामक निकायहरूसँग समन्वय गर्दैछ। थ्रिजी सेवा २०२५ भित्र बन्द हुनेछ, भने टुजी सेवा २०२७ सम्म बन्द गर्ने सम्भावना रहेको छ।
उनका अनुसार हाल नेपालमा ३.३ मिलियन टुजी ह्यान्डसेटहरू सक्रिय रहेका छन्, जसले प्रविधिको रूपान्तरणमा अवरोध पुर्याउन सक्छ। त्यसैले, उनले पुराना प्रविधिहरू हटाएर फोरजी र आगामी ५जी प्रविधि विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। एनसेलले हाल फोरजी सेवामा ठूलो लगानी गरिसकेको छ र अब ५जी प्रविधिको लागि उपयुक्त स्पेक्ट्रम सुनिश्चित गर्न सरकारसँग सहकार्यको अपेक्षा राखेको छ। कायुमोभले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई राजस्व संकलनभन्दा बढी सेवा प्रदायकलाई सहजीकरणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।