सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लाग्ने विषयमा बजारमा भइरहेको चर्चाबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले टीएमएस/नेप्से प्रणालीमार्फत हुने नियमित दोस्रो बजार कारोबारमा १ प्रतिशत अतिरिक्त शुल्क नलाग्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “TMS/NEPSE मार्फत दैनिक हुने नियमित सेयर किनबेचमा १% शुल्क लाग्दैन।”
सरकारले बनाउन लागेको नयाँ कम्पनी ऐन २०८३ को मस्यौदामा २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गर्दा १ प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क लिने व्यवस्था प्रस्ताव गरिएको विषय सार्वजनिक भएपछि लगानीकर्तामाझ चासो बढेको हो।
मस्यौदा अनुसार, २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री भएमा त्यस्तो सेयर विवरण अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। धितोपत्र विनिमय बजारको प्रणालीमार्फत कारोबार भएमा सम्बन्धित धितोपत्र व्यवसायीले उक्त शुल्क संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ।
यसै विषयमा सांसद ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नियमित दोस्रो बजार कारोबारमा उक्त शुल्क नलाग्ने बताएका हुन्।
ढकालले दोस्रो बजारमा नियमित कारोबार गर्दा हालकै व्यवस्था अनुसार ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड शुल्क, डीपी शुल्क र पूँजीगत लाभकर मात्र लाग्ने उल्लेख गरेका छन्।
“पछिल्लो समय ‘सेयर कारोबारमा १% कर लाग्ने’ भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ—हामीले TMS/NEPSE मार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १% कर वा शुल्क लिने होइन। दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पूँजीगत लाभकर (CGT) ७.५% वा १०% नै हो।” उनले लेखेका छन्।
उनले १ प्रतिशत शुल्क भने अफ–मार्केट ट्रान्सफर अर्थात् निश्चित प्रकृतिका सिधै नामसारी हुने कारोबारमा मात्र लागू हुने बताएका छन्। ‘यो व्यवस्था धितोपत्र बोर्ड वा नेपाल सरकारको नीति अनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो सेयर स्थानान्तरण लगायतका सिधै CDSC मार्फत हुने नामसारीमा मात्र लागू हुन्छ।’ उनले लेखेका छन्।
यस्तो छ उनको पुरा लेख:
१% शुल्कका बारेमा केही स्पष्ट कुरा
र हामीले बुझेको सत्य र तथ्य यै हो!!
पछिल्लो समय “शेयर कारोबारमा १% कर लाग्ने” भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ—हामीले TMS/NEPSE मार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १% कर वा शुल्क लिने होइन। दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पूँजीगत लाभकर (CGT) ७.५% वा १०% नै हो।
सेयर हस्तान्तरण शुल्कबारे सबैले बुझ्नुपर्ने कुरा:
TMS/NEPSE मार्फत दैनिक हुने नियमित शेयर किनबेचमा १% शुल्क लाग्दैन।
१% शुल्क भने रु. २५ लाख वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट (Off-Market Transfer) अर्थात् कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लाग्ने व्यवस्था हो।
त्यसैले TMS मार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १% अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने कुरा सही होइन।
नियमित कारोबार (On-Market):
TMS मार्फत हुने दैनिक कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, SEBON शुल्क, DP शुल्क र पूँजीगत लाभकर (CGT) मात्र लाग्छ। यसमा कुनै नयाँ १% शुल्क थपिएको छैन।
अफ–मार्केट कारोबार (Off-Market):
यो व्यवस्था धितोपत्र बोर्ड वा नेपाल सरकारको नीति अनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो शेयर स्थानान्तरण लगायतका सिधै CDSC मार्फत हुने नामसारीमा मात्र लागू हुन्छ।
यस सम्बन्धमा अहिले फैलाइएको होहल्लाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको छ। हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकालौँ।
संयमित भएर कारोबार गरौँ, तथ्यमा विश्वास गरौँ।

प्रतिकृया