बैंकहरुमा अधिक तरलता, आज पनि ५५ अर्ब तान्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १५ गते
बैंकहरुमा अधिक तरलता, आज पनि ५५ अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रण गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। हाल कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ। यसपटकको संकलन प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरेर हुने भएको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा सहभागी काउण्टर पार्टीहरूले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम दरलाई प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ। यस निक्षेप संकलनको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड तोकिएको छ भने अधिकतम रकम ५ करोडको गुणकमा भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित हुनेछ।

केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन तरलता बढ्दा अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही आधारमा राष्ट्र बैंकले पटक–पटक यस्तो उपाय अपनाउँदै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स