उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक संकटका कारण लामो समयदेखि समस्यामा रहेको हेटौँडा सिमेन्ट उद्योग को निरीक्षण गर्दै उद्योग पुनः नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। शनिबार उद्योग परिसरमा पुगेर निरीक्षण गरेपछि मन्त्री यादवले व्यवस्थापन र कर्मचारीसँग छलफलसमेत गरेकी थिइन्।
छलफलका क्रममा उनले सरकारी स्वामित्वको उद्योग बन्द हुनु दुःखद् भएको उल्लेख गर्दै बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने दिशामा सरकार काम गरिरहेको बताइन्।
“निजी क्षेत्रका सिमेन्ट उद्योग नियमित सञ्चालन भइरहेका बेला सरकारी उद्योग बन्द हुनु अत्यन्तै दुःखद् विषय हो,” मन्त्री यादवले भनिन्, “हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ।”
उनले उद्योग बन्द हुँदा रोजगारी गुम्नुका साथै देशको अर्थतन्त्रमा पनि असर पर्ने भएकाले सरकार समस्या समाधान गरेर सञ्चालनको वातावरण बनाउन तयार रहेको बताइन्। उद्योग सञ्चालनका लागि सरकार मात्र नभई व्यवस्थापन र कर्मचारीको पनि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना तथा जीर्ण उपकरण, कच्चा पदार्थ अभाव र आर्थिक संकटका कारण उद्योग बन्द गर्नुपरेको जानकारी दिए।
साहका अनुसार उद्योगले समय–समयमा मर्मत गरेर सीमित उत्पादन गर्दै आए पनि पछिल्लो समय कच्चा पदार्थ आपूर्ति हुन नसक्दा उत्पादन पूर्ण रूपमा रोकिएको हो। उनले आर्थिक अभावका कारण कर्मचारीलाई ११ महिनादेखि तलबभत्ता दिन नसकिएको, कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता तिर्न बाँकी रहेको तथा विद्युत् महसुल भुक्तानीमा समेत समस्या रहेको बताए।
तत्काल देखिएको आर्थिक समस्यालाई समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिने उनको भनाइ थियो । वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। अहिले उद्योगका अधिकांश उपकरण पुराना भइसकेकाले उत्पादन क्षमता कमजोर बनेको प्राविधिकहरूको भनाइ छ।

प्रतिकृया