ज्येष्ठ नागरिकको ५०% भाडा छुट कार्यान्वयन गराउन मन्त्री बादीको पहल, यातायात मन्त्रालयलाई पत्र

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २७ गते
ज्येष्ठ नागरिकको ५०% भाडा छुट कार्यान्वयन गराउन मन्त्री बादीको पहल, यातायात मन्त्रालयलाई पत्र
AdvertisementAds

सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल अघि बढाएको छ।

मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले ज्येष्ठ नागरिकले कानुनबमोजिम पाउनुपर्ने सुविधा सुनिश्चित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोध गरेको हो।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।

सोही कानुनी व्यवस्थाअनुसार नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ। साथै, यातायात भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ।

तर कानुनमा व्यवस्था भए पनि अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा उक्त छुट तथा सुविधा नपाएको गुनासो मन्त्रालयमा प्राप्त हुँदै आएको छ। त्यसपछि मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ अघि बढाएको हो।

AdvertisementAds

मन्त्रालयले कानुनबमोजिम ज्येष्ठ नागरिकले पाउनुपर्ने छुट तथा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सुरक्षालाई व्यवहारमै सुनिश्चित गर्ने उद्देश्यले कानुनमा व्यवस्था भएका सुविधा कागजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयनमा लैजान सम्बन्धित निकायसँग आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालयले पहल गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स