जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंसिर ५ गते न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले साइबर ब्युरोको मागअनुसार यो अनुमति दिएको हो। अदालतको निर्णयबारे सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिएका छन्।
प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान भइरहेको छ। उनले कम्बोडियाको टेलिकममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी गर्दै अपुष्ट कागजात सार्वजनिक गरेका थिए।
यो प्रकरणपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंसिर ४ गते भक्तपुरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको थियो। सिआइबीले उनलाई भारतीय गुण्डाको नाम लिएर व्यापारीहरूलाई धम्की दिएको उजुरीसमेतका आधारमा अनुसन्धान थालेको छ।
यसै उजुरीका सिलसिलामा प्रसाईँका सहयोगी हरिचन्द्र फुयाललाई समेत पक्राउ गरिएको थियो। उनले प्रहरीसमक्ष दिएको बयानमा धम्की प्रसाईँकै निर्देशनमा दिएको स्वीकारेका छन्।
प्रहरीले प्रसाईँमाथि आपराधिक लाभ लिन नहुने कसुरमा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।
















प्रतिकृया