महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कुल १०.३७ प्रतिशत लाभांश पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मतिले स्वीकृत गरेको छ। बैंकका अनुसार यस वर्ष वित्तीय परिसूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष ९.३९ प्रतिशत रहेको आधार दर घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा लगानी ४७.२१ अर्ब रुपैयाँ पुगेको जानकारी दिइएको छ।
सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको निर्वाचन पनि गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, सञ्जय गिरि र सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल सञ्चालक बनेका छन्।
नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको छ। अध्यक्ष उपाध्यायले सेयरधनीहरूको सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














प्रतिकृया