Advertisement
Ads

मङ्सिर २० भित्र सुधारका रणनीतिक योजना पेश गर्दै कर्णाली; सेयर कारोबार के हुन्छ ? 



Advertisement
Ads

मङ्सिर ११ गते एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलोपमेन्ट बैंकलाई शिघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम कारबाही गर्दै थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको व्यहोरा आम सर्वसाधारणमा अवगत गरायो। २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणमा तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम नभएको र निष्क्रिय कर्जा ४०.८५ प्रतिशत कायम हुने देखिएको भन्दै राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरिएको हो। राष्ट्र बैंकले कर्णाली डेभलोपमेन्ट बैंकको व्यवस्थापनलाई  संस्थाको वित्तिय परिसूचकहरुमा सुधार ल्याउन ६ महिनाको समय पनि दिएको छ।

के हो शिघ्र सुधारात्मक कारवाही ?
राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गर्ने गर्दछ। बैंक तथा वित्तिय संस्थाको शिघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ मा यस्तो कारबाहीको स्वरुप व्याख्या गरिएको छ। ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा शिघ्र सुधारात्मक कारवाही लाई वर्गिकरण गरिएको छ।

‘क’ वर्गको कारवाही : न्यूनतम पूँजीकोष अनुपात भन्दा बैंक वा वित्तिय संस्थाले कायम गरेको पूँजीकोष अनुपात २५ प्रतिशत सम्मले कम भएमा
– सम्बन्धित बैंक वित्तिय संस्थाको पूँजी वृद्धि गर्न पूँजी योजना माग गर्ने,
– नगद लाभांश तथा बोनस सेयर घोषणा गर्न रोक लगाउने,
– नयाँ शाखा खोल्न रोक लगाउने र सम्बन्धित बैंक वित्तिय संस्थाको उच्च व्यवस्थापन तथा संचालकहरुको तलब भत्ता बढाउन रोक लगाउने जस्ता कारवाही गर्दछ।


Advertisement

‘ख’ वर्गको कारवाही : पूँजीकोष अनुपात तोकिए भन्दा २५ देखि ५० प्रतिशत सम्मले कम भएमा
– ‘क’ को सबै,
–  निक्षेप परिचालन तथा कर्जा कारोबारको कुल रकममा सीमा कायम गर्ने, नयाँ व्यवसायीक कृयाकलाप संचालन गर्न रोक लगाउने जस्ता कारवाही  गर्दछ।

‘ग’ वर्गको कारवाही : पूँजीकोष अनुपात तोकिएको न्यूनतम अनुपात भन्दा ५० देखि ७५ प्रतिशत सम्मले कम भएमा
– ‘ख’ को सबै कारवाही,
– नयाँ निक्षेप खाता खोल्न रोक लगाउने,
– कर्जा सीमा वृद्धि गर्न तथा नयाँ कर्जा प्रवाह गर्न रोक लगाउने,
– पूँजी पर्याप्तता सम्बन्धी कारवाही भएको ६ महिना भित्र तोकिएको न्यूनतम पूँजीकोष कायम नभएमा सम्बन्धित बैंक वा वित्तिय संस्थाका संचालक तथा कार्यकारी प्रमूखलाई नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) बमोजिमका कारवाहीहरु गर्ने।

‘घ’ वर्गको कारवाही: पूँजीकोष अनुपात तोकिएको न्यूनतम अनुपात भन्दा ७५ प्रतिशत भन्दा धेरैले कम भएमा
– ‘ग’ को सबै कारवाही,
– सम्बन्धित बैंक वित्तिय संस्थालाई समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ अनुरुपको कारवाही प्रारम्भ गर्ने,
– समस्याग्रस्त घोषणा भएको ६ महिनासम्ममा पनि तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम नभएमा बैंक वा वित्तिय संस्थाको गाभ्ने गाभिने वा प्राप्तिको प्रकृया सुरु गर्ने वा इजाजतपत्र रद्द गर्ने वा खारेजीको प्रकृया सुरु गर्ने

कर्णाली डेभलोपमेन्ट बैंक माथि गरिएको कारवाही कुन वर्गको हो ?
राष्ट्र बैंकले कर्णालीलाई नयाँ निक्षेप खाता खोल्न, थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ। त्यस्तै कर्णालीको व्यवस्थापनलाई  संस्थाको वित्तिय अवस्था सुधार गर्न ६ महिनाको समय तोकिएको हुँदा कर्णाली माथि राष्ट्र बैंकले ‘ग’ वर्गको शिघ्र सुधारात्मक कारवाही गरेको स्पष्ट हुन्छ। राष्ट्र बैंकको न्यूनतम पूँजीकोष सम्बन्धी व्यवस्था अनुसार हाल ‘क’ वर्गका वाणिज्य बैंकका साथै राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकहरुले ११.५ % न्यूनतम पूँजीकोष अनुपात कायम गर्नुपर्ने हुन्छ। बाँकेको नेपालगन्ज केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलोपमेन्ट बैंक एक क्षेत्रीय स्तरको विकास बैंक हो त्यसैले यसले १०% न्यूनतम पूँजीकोष कायम गरे पुग्छ।

कर्णालीको सेयर कारोबार के हुन्छ ?
नेपाल स्टक एक्सचेन्जमा कर्णाली डेभलोपमेन्ट बैंक (करबल) सिम्बोलले सूचिकृत छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेब साइटमा उल्लेख भए अनुसार कर्णालीको कुल ५० लाख २८ हजार ३ सय कित्ता सेयर सूचिकृत छ जसमा प्रोमोटर तर्फ २५ लाख ६४ हजार ४ सय ३३ र पब्लिक तर्फ २४ लाख ६३ हजार ८ सय ६७ कित्ता सेयर सूचिकृत छ। नेपाल राष्ट्र बैंकले कर्णालीलाई शिघ्र सुधारात्मक कारवाही गरेदेखि नै यसको सेयर कारोबार रोक्का हुन्छ कि के हुन्छ भन्ने विषय आम लगानीकर्ताको चासोको विषय बनेको देखिन्छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्दैमा सूचिकृत संस्थाको सेयर कारोबार रोक्का हुँदैन। राष्ट्र बैंकले कुनै बैंक वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको खण्डमा भने सम्बन्धित बैंक वित्तिय संस्थाको सेयर कारोबार रोक्का गराईदिन राष्ट्र बैंकले पत्र लेख्ने गरेको पराजुली बताउँछन्। ‘विगतमा पनि थुप्रै बैंक वित्तिय संस्थाहरु माथि राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेको छ र ती कुनै पनि संस्थाको सेयर कारोबार रोक्का गरिएको मेरो जानकारीमा छैन’, पराजुलीले बजारको चिरफारलाई बताए।

कुनै पनि सूचिकृत संस्थाको सेयर मूल्यमा चलखेल भएमा वा धितोपत्र ऐन विपरितका गतिविधि भएमा सम्बन्धित सूचिकृत संस्थाको सेयर कारोबार रोक्का गर्ने वा अन्य कारवाही गर्ने अधिकार धितोपत्र बोर्डलाई छ। तर राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेकै आधारमा भने कर्णालीको सेयर कारोबार रोक्का हुँदैन।

कर्णाली डेभलोपमेन्ट बैंकको व्यवस्थापन के भन्छ ?
बैंकका प्रमूख कार्यकारी अधिकृत निरज विक्रम शाहको हस्ताक्षरमा शुक्रवार प्रकाशित प्रेश विज्ञप्तिमा छोटो अवधिमा नै वित्तिय अवस्था सुधार गरी कारवाही फुकुवाको प्रकृयामा जाने उल्लेख छ। बैंकको क्रेडिट डिपार्टमेन्ट प्रमूख कोमल विष्टका अनुसार मङ्सिर २० भित्रै रणनीतिक कार्ययोजना लिएर राष्ट्र बैंक जाने तयारीमा बैंक व्यवस्थापन छ। २०८१ चैत्र मसान्त भित्र खराब कर्जा ५% भन्दा तल झार्ने, पूँजी बढाउने, खराब कर्जा असुलीको रणनीतिक योजना बनाएर सो अनुसार आक्रामक रिकोभरीमा लाग्ने योजना बैंक व्यवस्थापनले बनाएको र सोहि अनुसार आक्रामक रुपमा काम गरी छिट्टै एक सबल र सफल संस्थाको पहिचान पुनर्प्राप्ति गर्ने पनि विष्ट बताउँछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर