अब माघ १ देखि सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्नुपर्ने बीमा प्राधिकरणको निर्देशन
नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रका सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ।प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूलाई सम्बद्ध व्यक्ति वा संस्थाको बैंक खातामा मात्र डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
प्राधिकरणका अनुसार सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ ले बीमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेखका शर्त वा प्रचलित कानूनअनुसार भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा उक्त निर्देशन जारी गरिएको हो।
यसअघि नै प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार, ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ।





